कर्मकान्डी नबनोस् महासमिति बैठक

२ पुष २०७५, सोमबार १६:५४

-सिता सापकोटा \ लामो प्रतीक्षा र अन्योल चिर्दै काँग्रेस महाधिवेशन सुरु भएको छ । ०६९ चैतमा नवलपरासीको त्रिवेणीधाममा भएदेखि महासमिति बैठक बस्न सकेको थिएन । महासमिति बैठक पार्टीको नीति, योजना र कार्यक्रम तय गर्ने प्रमुख थलो हो, यसलाई काँग्रेसको नीति अधिवेशनको रूपमा पनि लिने गरिन्छ । इतिहास हेर्दा महासमिति बैठकले विभिन्न मोडमा ऐतिहासिक र मुलुकलाई दूरगामी प्रभाव पार्ने निर्णय लिँदै आएको छ । अहिले यस्तो बेला महासमिति बैठक हुंदैछ, जति बेला मुलुकमा दुई तिहाइ समर्थनको कम्युनिस्ट सरकारको दबदबा छ । केन्द्रदेखि सात वटै प्रदेशमा काँग्रेस खुम्चिएको प्रतिपक्षमा छ ।

सरकार मुलुकमा लोकतान्त्रिक मूल्य मान्यताका अवयवहरू भत्काउँदै, कमजोर बनाउँदै एउटा शासकमा शक्ति केन्द्रित गर्न केन्द्रित छ । यस्तो बेला सरकारका गलत कामको निगरानी गर्ने प्रतिपक्ष आज के गर्दै छ? यसको जबाफ पार्टीभित्रका नेता तथा कार्यकर्ताले गरेको खोजी मात्रै होइन, आम बुद्धीजीवी, व्यवसायी, नागरिक समाज र सञ्चार माध्यम अनि नेपाललाई चासो राख्ने बाह्य जगतलेसमेत काँग्रेसको यो महासमिति बैठकलाई नजिकबाट नियालिरहेका छन् । हामीले यो चासो र आशालाई निराशामा बदल्दै पार्टीभित्र झगडा र गुटबन्दी गर्दै जाने कि आशा र नयॉ शक्तिकासाथ मुलुकलाई सही दिशा निर्देश गर्न सक्ने सन्देश दिने? महासमिति बैठकले यसको फैसला गर्नुपर्ने हुन्छ ।

के यो आम अपेक्षा अनुसारको सन्देश दिन महासमिति बैठक सक्षम होला? धेरै आशङ्काहरू छन् । आशङ्का बढ्नु स्वाभाविक पनि हो किनकि महासमिति बैठकको दिनसम्म पनि नेताहरू आपसमा भिड्दै छन् । गुटबन्दी अझै गर्दैछन् । यति बेला कुन नेतालाई बलियो बनाउने भन्ने प्रश्न अहम् होइन । न त यो चिन्ताको विषय नै हो । आम कार्यकर्ता पार्टीभित्र गुट चाहन्नन् । तर, नेताहरू गुटमा आफ्नो सुरक्षा र बल देख्ने गर्छन् । यस्तो भई सक्यो कि कुनै गुटमा नलाग्ने कार्यकर्ताको भविष्य काँग्रेसमा छैन । आफ्नो भविष्यका लागि पनि कुनै न कुनै गुटमा लाग्न बाध्य छन् । विपी कोइरालाले आफूबिरुद्ध फाँसीका संघीन मुद्दा लागेका बेला अदालतमा बयान दिने क्रममा भन्नु भएको थियो, ‘मुहान नै दुषित भएपछि त्यहॉबाट बग्ने पानीमा शुद्धता पाउन सकिन्न ।’ आज काँग्रेसको हविगत पनि त्यहीँ बनेको छ । तल्लो तहका कार्यकर्तामा समस्या छैन । तर, मुहान नै दुषित छ । अर्थात् नेताहरूमै समस्या देखिन्छ । सबैको चाहना पार्टीभित्रको गुटबन्दी अन्त्य होस् भन्ने छ, महासमितिमा देशभर र देशबाहिरका जनसम्पर्क समितिबाट समेत आएका प्रतिनिधिहरूको एउटै चाहना छ, काँग्रेस गुटले विचार र कार्यक्रमले अघि बढोस् ।

गुटबन्दी यतिसम्म झ्याँगिसक्यो कि, नेपालमा मात्रै होइन, विदेशस्थित जनसम्पर्क समितिसमेत गुटबन्दीको चरम सिकार बन्दै गएको छ । म आफै जनसम्पर्क समिति बेल्जियमको निर्वाचित सभापति हूँ । बेल्जियममै आज समानान्तर समिति बनाउने काम भएको छ । यो कुनै नेताको आड भरोस नपाई पक्कै भएको होइन । म यसलाई पार्टीभित्र मौलाएको विकृति भन्छु । नेताहरूले यस्तो विकृतिको अन्त्य गर्ने कि यसलाई मलजल गर्ने? अन्त्य भन्दा मलजल गर्ने प्रवृत्ति हाबी छ, चाहे विदेशस्थित जनसम्पर्क समितिमा होस्, चाहे केन्द्रीय कार्यसमिति र त्यस तलका पार्टी संरचनामा हुन् । पार्टीलाई बिचार र कार्यक्रमतिर डोर्‍याउने भन्दा पनि व्यक्ति र गुटको इसारामा पार्टीलाई चलाउने संस्कार बसेको छ । यो संस्कारको अन्त्य नहुँदासम्म बढ्दो कम्युनिस्टहरूको मतलाई हामी घटाउन सक्दैनौँ । आफूलाई काँग्रेस नभन्ने तर लोकतान्त्रिक भन्ने ठुलो सङ्ख्या आज राजनीतिकको मुलप्रवाहबाट बाहिर छ अर्थात् राजनीतिमा सक्रिय छैनन् । राजनीतिमा आउन चाहन्छन् । तर, वातावरण छैन । लोकतान्त्रिक पार्टीको अर्को विकल्प पनि छैन । अर्को सङ्ख्या छ व्यावसायिक र स्वतन्त्र बिचार राख्ने समूह । यो समूह पनि राजनीतिबाट टाढा छ । अहिले १३ वर्ष उमेर समूहका लाखौँ युवाहरू अब आउने चुनावमा मतदाता हुनेछन् । ती स्कुले युवाहरूलाई आकर्षित गर्न काँग्रेसको नीति र कार्यक्रम के हुन्छ? नेताको अनुहार हेरेर काँग्रेसले आकर्षित गर्ने अवस्था छैन । पार्टीले लिने नीति र कार्यक्रमबाटै यस्ता व्यक्ति समूह र वर्गका युवाहरूलाई पार्टीतिर आकर्षित गर्न सक्नुपर्छ । उनीहरूलाई आकर्षित गर्ने गुटको राजनीतिबाट सम्भव छैन

पार्टीको नीति, कार्यक्रम र सप्नशील योजनाबाट मात्रै आकर्षित गर्न सकिन्छ । के काँग्रेस महासमिति बैठकले यो दिशामा छलफल चलाउँला? अहिले बाहिर जे जस्ता छलफल र बहस भइरहेका छन्, तीबाट आस गर्ने ठाउँ छैन । तर, देश र विदेशबाट आएका प्रतिनिधिले नेताहरूलाई सही मार्गमा ल्याउन दबाब दिनुपर्छ । ६ वर्षपछि हुँदै गरेको यो महासमिति बैठकलाई कर्मकान्डी भूमिकामा सीमित हुन दिन हुन्न । महासमिति बैठक सकेर हलबाट निस्कँदै गर्दा प्रतिपक्ष हराएको भूमिकामा होइन, सशक्त उपस्थिति भएको देखाउनु पर्नेछ । एउटा निर्वाचनमा काँग्रेस पराजित भएर यसको साइज खुम्चिए पनि यसका लाखौँ कार्यकर्ता र शुभेच्छुक छन् । नेपालको ऐतिहासिक र ठुलो राजनीतिक शक्तिको रूपमा आज पनि छ, भोलीपनि रहन्छ ।

खाली परिवर्तन नेताको कार्यशैली र भूमिकाको आवश्यक देखिन्छ । नेता आफै त्यसलाई बदल्दैनन् र बदलिँदैनन् भने हामी जस्ता तमाम प्रतिनिधिले नेतालाई बदल्नै पर्छ । यो बदल्ने भनेको नेताको गलत कार्यशैलीलाई ढाकछोप गरेर होइन, आलोचना गरेर सच्चाउने हो । यसका लागि हामी कसैले पनि नेताका गलत कामको भारी बोक्ने काम नगरौं, खुलेर त्यसको आलोचना गरौँ अनि नेतालाई सच्चिने बाटोमा लान सक्छौँ । आज महासमितिले गर्ने ठुलो काम भनेकै नेतालाई सच्याउने हो । अनि पार्टीलाई नेताको गुटबाट होइन, विचार, कार्यक्रम र पद्धतिबाट चलाउने संस्कार बसाल्ने हो ।

नेतृत्वले महासमिति बैठकबाट आएका सुझावलाई आफ्नो आलोचना र विरोधको रूपमा होइन, पार्टी सुधार र सङ्गठनको सुदुढीकरणको दिशामा रचनात्मक भएर ग्रहण गर्नुपर्छ । कम्तीमा महासमितिपछि काँग्रेसको शक्ति आफ्नै पार्टीभित्र खर्चने परिस्थिति नबनोस् । मुलुकलाई संवृद्ध बनाउने दिशामा केन्द्रित होस् । अनि पार्टी सङ्गठनका लागि खर्च होस् । आफूलाई केन्द्रमा होइन । मुलुक र आम नेपालीको भविष्यलाई केन्द्रमा राखेर खर्च होस् । यो हुन सकेमा महासमिति बैठकको सार्थकता रहनेछ ।

-कान्तिपुरअनलाइन बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*