सामाजिक सद्भावमा राज्यको भूमिका

६ माघ २०७५, आईतवार १२:०९

-जनार्दन घिमिरे

घटना-१

पेप्सीकोला चोकदेखि खहरे चोकसम्म सडक बिस्तारको लागि एक नम्बर सडक डिभिजन कार्यालय बबरमहलले दुइ वर्षअघि ठेक्का लगायो।

ठेक्का पाउनासाथ ठेकेदारले भएको सडक रातारात भत्कायो। एयरपोर्टसँगैको सडक भएकाले यसको संवेदनशीलता बुझेर तत्कालै सडक निर्माण हुने विश्वासले त्यतिवेला फेल खायो जब भत्काएको महिनौंसम्म पनि सडक निर्माणको लागि कुनै चालचुल देखिएन।

कुनै पनि आयोजना सम्पन्न गर्न ठेकेदारको छनोट भइसकेपछि आयोजनास्थलमा ठेक्का लगाउने कार्यालयको नाम, ठेक्का लिने संस्थाको नाम, ठेक्का रकम, आयोजना शुरू र सम्पन्न मिति आदि उल्लेख गरिएको बोर्ड अनिवार्य रुपमा राख्नुपर्ने कानूनी ब्यवस्था भए पनि सो को पालनासमेत भएन।

मुल सडक भएकाले दिनभरी हजारौ सवारी साधनको आवागमन त छँदैछ रातभरी टिप्परको दौडाइले दिनरात झ्यालढोका थुनेर बस्दाको पीडा एकछिनको लागि मास्क लगाएर सडकमा निस्कनेको भन्दा कयौं गुणा बढी हुँदो रहेछ। यसै बिच विमानस्थल भित्रै युएस बंगला एयरको विमान दुर्घटना हुँदा ठूलो संख्यामा जनधनको क्षति भयो। दूर्घटना विमानस्थलको पूर्वपट्टी भएकोले त्यही सडकको कारणले उद्घार कार्यमा ठूलो कठिनाइ भयो। तर पनि सरोकारवालालाई त्यो संवेदनाले छोएन।

तीन तहको सरकार, तीनै तहका जनप्रतिनिधि भए पनि पीडितको गुनासो सुन्ने र सरोकार राख्ने कोही भेटिएन। यसैबीच काठमाडौं महानगरपालिका-३२ ले सडक डिभिजन कार्यालयलाई मिति २०७४ मंसिर १३ गते पत्र लेखि स्थानीयको माग बमोजिम ढल समेतको ब्यबस्था गरेर मात्र सडक निर्माण गर्नू, अन्यथा सडक निर्माण नगर्नू भन्ने आशयको पत्र लेख्यो।

सडक डिभिजनले मंसिर १८ मा ढल सम्बन्धी कार्यको लागि बजेटको ब्यवस्था नभएको र त्यस ठाउँमा ढल राख्न सम्भव पनि नभएको भनि जवाफ फर्काए पछि सडक निर्माण कार्य थप अनिश्चय तर्फ धकेलियो। वडाको भूमिका बाहिर आएपछि सडकको विकल्प ढल होइन न त ढलको विकल्प नै सडक हुनसक्छ अतः सम्भव भएसम्म दुवै हुनुपर्छ भन्ने जान्दाजान्दै पनि समाज दुई खेमामा बाँडियो। ढल नभएका ३–४ घरपरिवार ढल नभए सडक पनि हुनुहुँदैन भन्दै वडा कार्यालयमा धाउन  थाले भने बाँकी ढल सम्भव छैन भने तत्काल सडकको काम सुचारू गरियोस् भन्ने तर्फ लागे।

के प्रभावमा परेर हो कुन्नि वडा कार्यालयको सिफारिसमा महानगरपालिकाले प्राविधिकको रायसमेत नलिइ कार्यक्रममै नरहेको ढलको लागि हचुवाको भरमा टेण्डर निकाल्यो। ठेक्का परेको ठेकेदारले जब ढलको लागि पाइप खसाल्यो अनि मात्र उसले भनिएको ठाउँमा ढल राख्न सम्भव नभएको भन्ने पत्तो पायो। पाइप लैजान लाग्दा वडाबाट केही दिन सो पाइप त्यही राखिदिन अनुरोध गरिपछि सडक निर्माणमा थप बाधा पुग्यो।

सडक निर्माण गर्न ठेक्का पाएको ठेकेदार पनि जेठ महिना लाग्न लागेको र पानीसमेत पर्न थालिसकेकोले अब पिच सम्भव हुँदैन भन्न थालिसकेको थियो। त्यसैबेला समयमा काम नसक्ने ठेकेदारको सूची गृह मन्त्रालयबाट मागिएको खबर सुनियो र त्यही मौकामा २–४ जना जम्मा भएर जिल्ला प्रशासन कार्यालय तिर लाग्यौं।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा र प्रधानमन्त्रीका निजी सचिव यूवराज दाहालसमेतले चासो राखिदिएपछि सडक डिभिजन तथा ठेकेदार कम्पनी पनि सडक निर्माण तर्फ नै कसिए र अन्त्यमा जे जस्तो भएपनि पिचको काम सम्पन्न भयो। पिच भएको भोलिपल्ट ढलको पाइप पनि उठाएर लगियो तर विकासका लागि भनि महानगरवासीले तिरेको करको रकम ४२–४५ लाख रूपैयाँ ढल निर्माणको नाममा कता वेपत्ता भयो थाहा भएन।

घटना नम्बर २

बिहान बेलुका सडक र फूटपाथमा कुकुर डुलाउने नाममा कुकुरलाई हगाउँदै हिड्ने यत्रतत्र देखिन्छन्। आफू कुकुर पाल्ने तर कुकुरलाई सार्वजनिक बाटो वा अरूको घर अगाडि फोहर गराउँदै हिड्नेसँग बेला बखत जम्काभेट र ठाकठुक परिरहन्छ। एउटी महिला प्रायः बिहानको समयमा कुकुर लिएर आयो अनि कसको घर अगाडि मानिसहरू देखिएका छैनन् उसैको घर अगाडि फोहोर गरायो। कुनै दिन त्यो सम्भव भएन भने मूल सडकको फूटपाथमा नै फोहर गराउँदै घरतिर लाग्ने गरेको उनको यो दैनिकी मलाई असह्य हुँदै गइरहेको थियो।

एकदिन बिहान उनी सधैझैं त्यसैगरी आइन् र पल्याकपुलुक गर्दै चारैतिर हेर्न थालिन्। मेरो धैर्यको बाँध टुटिसकेकोले म भने उनलाई कुकुर लिएर फेरि त्यता नआउने पार्न चाहन्थेँ जसको लागि उनलाई रङ्गेहात पक्रनु थियो। केही छलिएर बसेँ। आज उनको लागि कुकुरलाई फोहर गराउने रोजाइमा हाम्रो घर अगाडि परिसकेको थियो। सधैं झैं त्यसैगरी जब उनी हिड्न थालिन अनि म निस्किएर उनले गर्ने गरेको दैनिकी बारे सोधेँ।

उनको भनाइ थियो- कि त मैले उनलाई कुकुर हगाउँने ठाउँ देखाइदिनु पर्‍यो होइन भने बाटो सबैको भएकोले उनको त्यो अधिकार हो रे। अनि मैले मेरो घर अगाडिको त कुरै नगर्नुस् तपाईँको घर अगाडिको बाटोमासमेत फोहर गर्न र गराउन पाउनुहुन्न भनेर ठूलो स्वरले कराएपछि छिमेकी पनि के भएछ भनेर चियाउन थाले। उनी भुत्भुताउँदै हिँडिन्। पछि थाहा भयो उनी बालबालिका सम्बन्धी संस्था चलाउने र टोलमा चिनिएकी महिला रहिछन्। आजकाल उनी मलाई देख्नासाथ अनुहार लुकाउने प्रयास गर्छिन्।

घटना नम्बर ३

हाम्रो घरबाट मूल सडकमा निस्कन १५  मिटर जति सानो बाटो पर्छ जस्को चौडाइ ४ देखि ७ फि सम्मको छ। त्यो बाटोको एकापट्टी कम्पाउण्डवाल लगाएको खाली जग्गा छ भने अर्को पट्टी कम्पाउण्डवालसमेत लगाएको घर छ जसको घरमूली पि.एच.डि. गरेका सेवा निवृत्त सरकारी कर्मचारी हुन्। उनले आफ्नो कम्पाउण्ड भित्र सुरक्षाको लागि काँडे बोट लगाएका छन् जसको जरो मात्र उनको भित्रपट्टि छ बाँकी सबै बाहिर। मैले यस ठाउँमा घर बनाएर बसेको सात वर्ष भयो। यो सात वर्षमा मैले के देखे भने उनी आफ्नो भित्रपट्टि काटँछाँट गराएर राख्छन्। तर, बाहिरबाटो हिड्नेले काँडाले घोच्ने डरमा सधै डराएर हिडनुपर्ने हुन्छ। पेप्सीकोला प्लानिङबाट बस चढ्न आउन/जान सबैभन्दा छोटो बाटो भएकोले अनि सोल्टीमोड नामको बस विसौनी समेत रहनुको साथै भित्रपट्टी झण्डै ५५–६० घरको बस्तीले प्रयोग गर्ने चल्तीको बाटोमध्ये यो पर्छ।

बर्षातको समयमा त्यसैत सानो बाटो त्यसमा पनि काँडाले छाता तानेर ओढ्नै नमिल्ने। सडकबाट बिजुली, केवल तथा नेटको तार तान्न निजी पोल गाडियो। तर, काँडाले तार तान्नै नमिल्ने। कतिपटक समस्या बताउँदै बाटोमा आएको हाँगा काटिदिन आग्रह गरियो। तर, सुनुवाइ भएन। हुँदाहुँदा यसपटक त झन तारमा स्कूसको लहरा चढाएर बाटो त ढाक्यो नै पोलमा राखेको बत्तिको उज्यालो समेत छोपेपछि असह्य भएर फोटो खिचि फेसबुकमा पोष्ट गरिदिएँ। जसको परिणाम काँडाको बोट र स्कूसको लहरा काटियो, तर उनी आजकाल हामीसँग बोल्दैनन्।

घटना नम्बर ४, ५, ६ …….

साइकल, मोटरसाइकल, टायर बनाउने हुन कि मासु पसले वा अन्य ब्यवसाय गर्नेहरू फुटपाथ कब्जागरी बसेका हुन्छन्। तर, बोलिसक्नु हुँदैन।

अलिकता सडक जाम हुनासाथ मान्छे हिड्न बनाइएको फुटपाथमा डरमर्दो किसिमले मोटरसाइकल हुइँकिन थाल्छन्, छिटपुटबाहेक अधिकांश सार्वजनिक यातायातका साधनहरुमा बढी भाडा असुल्नको लागि दररेट टाँसिएको हुँदैन। जसले गर्दा पटकै पिछ्छे कि त झगडा गर्नुपर्‍यो अन्यथा बढी भाडा तिर्नुपर्छ। हाल न्यूनतम १४ रूपैयाँ र केहि समय अघिसम्म १३ रूपैयाँ रहेको भाडामा जबरजस्ती १५ रूपैयाँ भाडा असुलिरहँदा राज्यको उपस्थिति कहि देखिदैन।

यस किसिमको बेथिति जहाँसुकै र जुनसुकै क्षेत्रमा बढदो छ। माथिका घटना पढ्दा कतिलाई सामान्य लाग्नसक्छ किनकि, हामीले जानेबुझेदेखि यस्तै हेर्दै र भोग्दै आएका छौ। हामी यीनै कुरामा अभ्यस्त भइसकेका छौ वा हुँदैछौ। अझ कतिपयलाई त यस्ता कुरा गर्दा ‘ओभरस्मार्ट’ हुन खोजेको भन्ने पनि लाग्दो हो। तर, कुनै पनि सभ्य समाजको लागि यस्ता कुराहरु सामान्य हुन त? हालै मात्र विराटनगर महानगरपालिकामा एउटा छिमेकीले अर्को छिमेकीको घर अगाडि कुकुरलाई फोहर गराएको विषयलाई लिएर भएको विवादमा एउटाले अर्काको हातको औंला टोकेर छिनालिदिएको र हाल अदालतमा मुद्दा चल्दैछ।

राज्यको भूमिका?

नेपालमा यस किसिमको कार्य अज्ञानताले भएका पक्कै होइनन्। शहरदेखि गाउसम्मका नेपाली नै ठूलो संख्यामा विभिन्न उद्धेश्य लिएर विदेश गइरहेका छन्। यिनीहरु जानु भन्दा अगाडि नै त्यहाँ यो गर्नु हुन्छ त्यो गर्नु हुँदैन यस्तो गर्दा यस्तो सजाय हुन्छ सबै जानकार भइसकेका हुन्छन्। तर, हामी कहाँ यस किसिमको कार्यलाई कानुनमा जे सुकै लेखिएको भए पनि ब्यवहारिक रूपमा लगभग वैधानिकता प्राप्त छ। जसले गर्दा अपवादबाहेक कहि कतै कुनै किसिमको कसैले दण्ड सजाय पाएको देखिदैन।

केहि समय अगाडि काठमाडौं महानगरपालिका- ३२ मा निर्वाचित वडा अध्यक्षसँग फोहर ब्यवस्थापनको सन्दर्भमा कुरा हुँदा भनेको थिए- फोहरमैला ब्यवस्थापन ऐन, २०६८ को दफा ३९ मा भएको दण्ड सजाय सम्बन्धी ब्यवस्थाबारे माइकिङ मात्र गराइदिनुस् नब्बे प्रतिशत सडकमा फालिने फोहर आफैं नियन्त्रण हुन्छ। यदि त्यो ब्यवस्था कार्यान्वयनमा ल्याउनुहुन्छ भने शतप्रतिशत फोहर नियन्त्रण हुन्छ।

स्थानीय सरकारको हिसाबले महानगरपालिकाले नै कार्यान्वयनमा ल्याउनुपर्ने उक्त ऐन बारेमा राजधानीको वडा अध्यक्ष नै जानकार रहेनछन्। कुनै रकम खर्च नगरी बरू दण्ड सजायबाट राजश्व संकलन हुन्थ्यो होला। तर, त्यतातर्फ कसैको ध्यान गएको देखिदैन। सार्वजनिक यातायातको साधनबाट यात्रा गर्दा २–४ ठाउँमा ट्राफिकको चेकिङमा नपरेको कहिल्यै हुँदैन। तर, भाडाको दररेट टाँसिएको छ कि छैन भन्ने कहिल्यै हेरेको देखिन्न। कहिले काही बेलुकीपख सुन्धारा, रत्नपार्क तिर नगर प्रहरीले फूटपाथमा ब्यापार गर्नेलाई लखेटेको देखिन्छ। तर, सधै फुटपाथ कब्जागरी फोहर पारेर दर्तासमेत नगरी मोटरसाइकल मर्मत, मासु, तरकारी, फलफूल तथा अन्य ब्यवसाय गर्नेहरुलाई कारबाही गरेको कहिल्यै देखिदैन। यस्तै बेथिति अन्य सबै क्षेत्रमा देख्न सकिन्छ। वास्तवमा कानूनको परिपालना गर्न गराउन राज्य गम्भिर हुन हो भने यस किसिमका बेथिति नियन्त्रण त हुन्थे नै सामाजिक सद्भाव कायम रहन समेत सघाउ पुग्ने थियो।

– सेतोपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*