सम्मान र दृष्टिको सङ्कट

१२ माघ २०७५, शनिबार १०:४९

-अभि सुवेदी

विस्मय र विचारको मुद्रामा यो आलेख तयार गर्न बसेको छु । किताबहरू अनेकौं पढिरहन्छु, तर अहिले पढेका किताबमा अमेरिकी दार्शनिक फ्रान्सिस फुकुयामाले लेखेको र यही नेपाली सालमा प्रकाशित ‘आइडेन्टिटी’ले निकै खिचेको अवस्था हो ।

एउटा कुराले विस्मित भएको बेला यसले खिचेको हो । यी हरफहरू लेख्दै गर्दा डा. गोविन्द केसीको सोह्रौं आमरण अनशन चलिरहेको छ । यिनका माग विषयमा सबैतिर चर्चा र छलफल भएकाले यहाँ दोहोर्‍याउन चाहन्न । साउन २०७५ मा आफूले सधैं राम्रा मानेका दुईजना कमिनिस्ट नेता सुवास नेम्बाङ र नारायणकाजी श्रेष्ठले अरुहरूसँग पनि बसेर सम्झौता गरी डा. केसीको अनशन अन्त्य गरेको दृश्य अहिले पनि आँखामा छ ।

यो सम्झौता दुई हतियारधारी बीचको थिएन । एकल जीवन जिउने एउटा सेवाभाव भएको डाक्टर र सरकारको बीचमा भएको यो सम्झौताले नै भन्छ, कति थोरै काम भएको रहेछ, गरिब–गुरुवाको निम्ति यो देशमा । ती डाक्टरकी वृद्ध आमा पनि आउनुभएको थियो, जो केसीको छेउमा बस्ता एउटा प्रतीकात्मक अर्थ बोकेको थियो, मेरानिम्ति ।

त्यसपछिका र अगाडिका तिनले गरेका माग गोपालप्रसाद रिमालको कविता ‘आमाका सपना’ हुन् । तिनको प्रत्येक आमरण अनशनमा तिनको हृदयको उद्गार उठ्छ, ‘आमा त्यो आउनेछ ।’ त्यत्ति आसले ती अनशनमा बसेका हुन्छन् ।म कांग्रेस पनि होइन, कमिनिस्ट पनि होइन । एक साहित्यकार हुँ । नाटक र रङ्गमञ्चको मानिस भएकोले गोविन्द केसीको सत्याग्रहको प्रस्तुति शक्ति र मानवतावाद बुझ्न सक्छु ।

नेपालको राजनीतिमा लोकतन्त्र आएपछि मेडिकल क्षेत्रमा ती डाक्टरले भित्रैबाट समस्या देखे । अनि तिनले माग राखेर सत्याग्रहको आड लिए । कांग्रेस र कमिनिस्टका सरकारहरूले तिनका उपेक्षा गरिबसे । अहिलेसम्म आइपुग्दा केसीको सत्याग्रह रिमालको एउटा कविताबाट माथि उठेर एउटा महाकाव्य भएको छ । हिंसा र घात/प्रतिघातले रञ्जित देशमा महात्मा गान्धीको शैलीको सत्याग्रहलाई यी राजनीतिमा निरपेक्ष मानिसले वरण गरे । यी अहिले सबैले मान्नुपर्ने श्रद्धेय मानिस हुन् ।

केही दिनदेखि तिनमाथि नेपाल कमिनिस्ट पार्टीका आफूले मनपराएका अघिल्ला पुस्ताका र अहिलेको पुस्ताका आफूले आशा गरेका कमिनिस्ट युवा नेताहरूले अभद्र शब्द प्रयोग गरेर, तिनलाई कांग्रेसका फलाना (त्यो शब्द लेख्न पनि लज्जा लाग्छ) भनेर बोलिरहेको सुन्दा र पढ्दा अत्यन्त लज्जित र दु:खित भएको छु । विगतमा सबै दलका सबै पुस्ताका नेताहरूले यिनका सरल जनमुखी मागको उपेक्षा गरेका कथा छन् ।

कांग्रेस र कमिनिस्ट लडिरहुन्, लडेकै हुन्, मिल्ने र फाइदा लिने ठाउँमा मिलेकै हुन्, मिल्दै होलान् । मूल कुरा त्यो होइन, हामी स्वतन्त्र सर्वसाधारण नरनारीको निम्ति । मूल समस्या एउटा भत्किन लागेको सम्मान र मानवीय आचरणको अवस्था हो । यो अवस्था यिनै ठूला दलका असावधानी र अहम्वादी चिन्तनले गर्दा आउँदै गरेको देखेका छौं ।

माओवादीसँग सरकार र ७ दलले मंसिर ५, २०६३ मा ‘विस्तृत शान्ति सम्झौता’मा हस्ताक्षर गरेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेको एउटा वाक्य ऐतिहासिक, शान्ति भावले रञ्जित र नाटकीय थियो । तिनले भनेका थिए, ‘हामीले प्रचण्ड भनेका कस्ता डरलाग्दा होलान् भनेको त हामीजस्तै पो रहेछन् ।’ यसपछिको नेपाली युगको आरम्भ गर्दा नेपालका राजनीतिक दलहरूले एउटा ऐतिहासिक कुराको पालना गरे । त्यो नैतिक वा ‘मोरल’ आयाम थियो । त्यसको अर्थ, सम्मानको संस्कृतिलाई सबैले माने । एकाध उपलब्धिका कुरा गरौं । हामी नयाँ युगमा छौं । गणतन्त्रमा छौं ।

संविधानले मानिसका अधिकारका स्वरूप र विधिलाई स्थापित गरेको छ । समय लाग्यो, तर इतिहास बन्यो । बहुल दलहरूले विधिसम्मत चुनाव उठे । कमजोरी भए, तर संरचना बने । चुनाव जित्ने दलले सरकार बनाउने कर्म गर्‍यो । केन्द्रमा दुई सदन बन्यो । सातवटा प्रदेश बने । सबैमा शान्तिपूर्ण चुनाव भयो । प्रदेश सरकार बनेका छन् ।

केन्द्र र प्रदेशबीच अधिकार बाँडफाँडको विषयमा छलफल हुँदैछन् । यो सबैबाट नेपालको इतिहासमा अभूतपूर्व परिवर्तन भएको हो । धेरै वर्षदेखि अनेकौं किसिमले यो अवस्था ल्याउन दलहरू लडे । कार्यक्रम विविध थिए र छन् । जाति, पहिचान, भाषा र लैंगिक चेतना बने । काम धेरै बाँकी छन्, तर आरम्भ भएका छन्, सबै विषय । प्रेस स्वतन्त्रता र सूचनाका अधिकारलाई संविधानले ग्यारेन्टी गरेको छ ।

शिक्षा पाउने सर्वसाधारणको अधिकार संविधानमा अङ्कित छ । गरिबीको उन्मूलन गर्ने सूत्रहरू छन् । संविधानमा लेखिएका छन् । गरिब छन्, तर संविधानमा तिनको पहिचान र तिनको व्यवस्था हुनुपर्ने लेखिएको छ । संविधानको यो स्वरूप र स्थायी सरकार भएको कारणले भविष्य एउटा सम्भावनै–सम्भावना भएको विषय नभएको होइन । त्यसलाई सुन्दर बनाउन भौतिक रूपमा योजना र चित्र प्रस्ट नभए पनि स्वतन्त्र सपनाहरू यसै बुनिए ।

दल र सरकारका नेताहरू सपना देख्छन् । सपना कसले देख्ने भन्नेमा पनि मौन सहमति छ । शक्तिशाली र ठूला नेता वा शासकले त्यो सपना देख्नुपर्छ, अनि मिले पनि नमिले पनि अरुलाई भन्नुपर्छ । सपनाको यस्तै चरित्र हुन्छ । मूलीले देखेका सपना सबैलाई सुनाउँछ । सपना असम्भव भए पनि सबै तिनमाथि विश्वास गर्छन् । किनभने त्यसले केही समयलाई भए पनि मन खुसी पार्छ । अति यथार्थवादी वा ‘सर्रियल’ नै सही, हामी सपना देख्छौं । स्पेनी पेन्टर साल्भाडोर डालीका यस्तै स्वप्न चित्रमा हामी सपनाले भुइँ छोएको तर ती यथार्थको अतिरञ्जक स्वरूपमा उभिएको देख्छौं ।

यथार्थसँग ट्वाक्क नमिलेपछि सपना अति यथार्थवादी हुन्छन् । तर सपना देख्नु हाम्रो उत्तेजना र खुसी हो । हाम्रा राजनेताहरूले देख्ने र भन्ने सपना त्यस्तै हुन् । ती हावा नै सही तर सपना हुन् र नै ती भनिन्छन् । त्यसले केही बिगार्दैन । रमाइलो हुन्छ । मूल कुरा अर्को छ ।

छिमेकी मुलुकहरू ठूला छन् । उत्तरको छिमेकी कमिनिस्ट र दक्षिणको छिमेकी संसदीय प्रणाली भएको लोकतन्त्र भएकोले हमीलाई दुबैको प्रभाव परिआएको छ । ती ठूला देशलाई हामीले अनेकौं आकार र चरित्रमा देख्यौं । पहिलो प्रमाण पृथ्वीनारायण शाहको छ । उनले ती छिमेकीलाई ढुङ्गा भने । पछि ती देशका भूराजनीति पनि परिवर्तन भए । तर ती छन् र नै हाम्रो त्रिकोणात्मक सम्बन्ध छ । ती छन् र नै हामी प्रभाव परेर पनि मौलिक छौं । हामी भारतको जस्तो संसदीय प्रणालीमा छौं । तर धेरै कमिनिस्ट छौं, अहिले । कांग्रेस पनि छौं, ठूलो संख्यामा ।

भारतीय राजनीतिको मोडलमा हाम्रा दलहरू बनेका हुन् । यत्ति नै भनौं संक्षेपमा । फ्रान्सिस फुकुयामाको किताबको मूल विषय प्रतिष्ठा हो । उनले ग्रिक शब्द थाइमियाको प्रयोग गरेर विचार राखेका छन् । थाइमिया भनेको मान्छेको प्रतिष्ठा खोज्ने अन्तरात्माको पुकार हो । यसैसँग जोडिएको अर्को आइसोथाइमिया छ । त्यो भनेको अरुजस्तै मलाई पनि सम्मान होस् भन्ने मानिसको चाहना हो । प्रजातान्त्रिक पद्धतिमा त्यस्तो प्रतिष्ठा कानुन र मर्यादाले गर्दा कायम हुन्छ, तर त्यहाँ सीमान्तकृत मानिसको प्रतिष्ठा र मर्यादामाथि प्रहार भएको देखिन्छ । हेगेलले मानिसको इतिहास नै यही प्रतिष्ठाको इतिहास हो भने । माक्र्सले क्यापिटलमा आफूले गरेको उत्पादनको गुण र स्वरूपमा आफ्नो मर्यादा र प्रतिष्ठा श्रमिकको मनोगत द्वन्द्वमा देखे । फुकुयामाले सन् ६० को दशकदेखि पश्चिममा आएका परिवर्तन– नागरिक अधिकार आन्दोलन, नारी मुक्ति आन्दोलन, १९६८ को फ्रान्सको मुक्ति आन्दोलन, युवाका आन्दोलनको अन्तर्यमा मानिसको प्रतिष्ठा र मर्यादाको संघर्ष देखाएका छन् । जनतापनदेखि अहिलेको ट्रम्पेली युगसम्म उनले यो विषय जोडेका छन्, किताबमा ।

नेपालमा सामन्ती युगमा नागरिकको प्रतिष्ठा थिएन, मर्यादा पनि थिएन । राजनीतिक परिवर्तन भएपछि मानिसले सोझै प्रतिष्ठाको निम्ति संघर्ष गर्छन् । नेपालमा राजनीतिक परिवर्तनहरू भएपछि समाजभित्रका विभेद अन्त्य हुने, उचित कामको सम्मान हुने अपेक्षा गरिए । आरम्भ राम्ररी भए, तर अहिले मैले देखेको सबभन्दा गम्भीर परिस्थिति भनेको खासगरी राजनीति गर्नेहरू र तिनका अनुत्तरदायी कर्मले सम्मान र प्रतिष्ठाको संस्कार धरासायी हुँदै गएको अवस्था हो ।

त्यो आपसमा प्रहार गरेर अगाडि बढ्छ, बढ्दैछ । दलहरूले एकअर्काको सम्मान गुमाउँदैछन् । तर नागरिक अभियन्ता गोविन्द केसीका यी आमरण अनशनका शृङ्खला र अहिले आएर यिनै श्रद्धेयमाथिका असम्मानजनक बोली र व्यवहारले भन्छन्, फुकुयामाले भनेका प्रतिष्ठा र सम्मानको पहिरोलाई अहिले नै रोक्न सकेनांै भने हामीले ठूलो दुर्घटना निम्त्याउने छौं । सम्मान र प्रतिष्ठा गोविन्द केसीबाट आरम्भ गरौं ।

कान्तिपुर (१२ साउन २०७५) मा प्रकाशित लेखको अन्तिम वाक्य उद्धरण गरेर लेख टुङग्याउँछु, ‘अहिले म भावातीत भएर आशा गर्छु, यो लेख एउटा अपूर्व उज्यालो दिनमा निस्किनेछ ।
-कान्तिपुरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*