आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा

१७ माघ २०७५, बिहीबार १८:१७

नेपाल चिकित्सक संघले देशभरका अस्पतालका आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।बिहीबार राष्ट्रियसभाबाट पनि चिकित्सा शिक्षा विधेयक पास भएपछि चिकित्सक संघले सांकेतिक आन्दोलन स्वरूप शक्रबार एक दिनका लागि देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्ने घोषणा गरेको हो।

संघले २२ दिनदेखि अनसनमा रहेका प्रा.डा गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै कदम नचालेको भन्दै भत्सना पनि गरेको छ। चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले विज्ञप्ति जारी गरी डा. केसीसँग वार्ताबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्। ‘अन्यथा आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने छ,’विज्ञप्तिमा भनिएको छ।

डा. केसीको समर्थनमा चिकित्सक संघले त्रिवि शिक्षण अस्पताल परिसरमै रिले अनसन तथा देशभर दबाबमुलक विरोध प्रदर्शन गर्दै आएको छ। बिहीबार पनि काठमाडौंमा विभिन्न पेशागत संगठनहरुले डा. केसीका माग पूरा गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*