सिमसारको स्याहार

१९ माघ २०७५, शनिबार १४:५७

-जुद्धबहादुर गुरुङ

सिमसार अर्थात् बोलिचालीमा रसिलो भूमि । जहांँ पानी सुक्दैन, जमिन पनि लुक्दैन । रामसार महासन्धिले विभिन्न अवस्था जस्तै– धाप, दलदल, जमेको वा बगेको, स्वच्छ तथा नुनिलो पानीले स्थायी वा अस्थायी रूपले ओगटेको जमिनलाई सिमसार भनेको छ । सिमसारलाई ४१ प्रकारमा वर्गीकृत गरेको छ । नेपालमा सिमसार नदी, ताल, कुण्ड, जलाशय, धाप वा सिम र धानखेत गरी ६ प्रकारका पाइन्छ ।

नेपाली समाजमा सिमसार क्षेत्र तेस्रो दर्जाका जमिन मानिन्थ्यो । सरकारले समेत जमिनलाई अब्बल, दोयम, सिमसार भनी वर्गीकृत गरेको थियो । र सिमको राजस्व अन्य जमिनको भन्दा तुलनात्मक रूपमा न्यून थियो । कति क्षेत्रमा सिमलाई भूत–प्रेतको बास हुने भनी चित्रण गरिन्थ्यो । सिमसार क्षेत्रहरू बस्तीविहीन र निर्जन भएकाले मानिसहरू लामो समय बिताउन सक्दैनथे । असुरक्षित ठान्थे । अझ विभिन्न प्रकारका फोहोरमैला विसर्जन स्थलका रूपमा सिमको प्रयोग गरिन्थ्यो । यस्तो मनोविज्ञानले लामो समयसम्म सिमसार क्षेत्र प्रयोजनविहीन रह्यो । सिमसारप्रति उपयोगितावादभन्दा उदासीनताको अंश बढी रहेको पाइन्थ्यो ।

एकथरी मानिस पानी प्रयोगको दृष्टिकोणले सिमसार क्षेत्रलाई देवस्थलका रूपमा पनि लिन्छन् । मानव समाज तथा सभ्यताको विकास पानी क्षेत्रमा भएको पाइन्छ । खासगरी जल, जमिन र वनजङ्गलको संगम क्षेत्रमा सिमसार पर्छ । यसलाई पवित्र जलस्रोतको रूपमा लिइन्छ । हिन्दु समाजमा खोला, नदी, ताल, कुण्ड, दह, पोखरीजस्ता सिमसारहरूमा ईश्वर र देवीदेवता बसिरहेको विश्वास गरिन्छ ।
हिन्दु ग्रन्थमा प्रजन्य, इन्द्र, आपा, बरुण,महादेव, सरस्वती र गंगा यस्तै देवी–देवताहुन्, जसको पौराणिक महिमा सिमसारहरूसँंग सम्बद्ध छन् । अन्य समाजले पनिसिमसारलाई मानव तथा संस्कृतिको अभिन्न अंश मानेका छन् ।जीवको उत्पत्ति र विकास पानीमा भएको वैज्ञानिक समाजको विश्वास गरिन्छ । मानव सभ्यताको विकास लगभग ५५ करोड वर्षको लामो इतिहास छ । यसमा मानवको जीवनीशैली फिरन्तेदेखि स्थायी बासोबास गर्ने समाजमा परिणत भएसम्मको गतिविधि पनि पानी नजिक भएको पाइन्छ । यसकालमा विश्वभर विभिन्न नदी किनारमा ठूलठूला सभ्यताको विकास भए । इन्दस नदीको वरपर हिन्द, मिश्र, इन्का, ह्याङवो, रोम, मिनो, मेसोपोटामिया, ऐलाम, आर्मेनिया, ओल्मेक, टोल्टेक ज्यापोटेक र करालजस्ता विशाल मानव सभ्यताको विकास विभिन्न नदी किनार वा सिमसार क्षेत्रको वरपर भएको पाइन्छ ।

विश्वभरका प्रमुख सहरहरू खासगरी लन्डन, न्युयोर्क, सांघाई, दिल्ली, ढाका, क्वालालमपुर, आधुनिक सहरहरूको विकास पनि नदी वा सिमसार क्षेत्रको नजिक भएका छन् । नेपालमा काठमाडौं, पोखरा, नारायणघाट, बुटवल, महेन्द्रनगर लगायत प्रमुख सहरहरू नदी किनारमा नै विकास भएका छन् । यी दृष्टन्ताका आधारमा सिमसारलाई मानव सभ्यताको जननी रूपमा लिन सकिन्छ ।

आजको नयाँ युगमा सिमसारप्रतिको मानवीय विचार तथा अवधारणामा पनि विशिष्ट रूपमा परिवर्तन आएको पाइन्छ । समग्र रूपमा सिमसार एउटा प्रकृतिको संरचनाको प्रतिनिधित्व गर्ने अवधारणा हो । वातावरणीय दृष्टिकोणले सिमसार क्षेत्रलाई पारिस्थितिक प्रणालीको रूपमा लिने गरिन्छ । पारिस्थितिक प्रणालीमा जल,वायु, ऊर्जा, जमिन, वनजङ्गल र प्राणीहरूको निश्चित अनुपात संरचना तयार हुन्छ । यस किसिमको संरचनामा खलल वा चाप पुर्‍याउनु राम्रो होइन । अझ सिमसार क्षेत्र आफैमा एक गतिशील पारिस्थितिक प्रणाली हो ।
जसले बहुपक्षीय महत्त्व, उपयोगिता र भावीसम्भावना बोकेको हुन्छ । यसले अन्य पारिस्थितिक प्रणालीलाई पनि टेवा प्रदान गरी संरक्षण गर्छ ।वरिपरिका जनसमुदायले सिमसारलाई बाढी नियन्त्रक वा रोक्ने क्षेत्र, जमिन मुनिको पानीको स्रोत, जैविक विविधताको भण्डार, छेउछाउका जीवजन्तुको जीवनको सार र मनोरञ्जनको उत्कृष्ट स्थलका रूपमा लिने गरेका छन् । सिमसार क्षेत्रलाई अति आवश्यक जल रथलको समिश्रण भएको भूमिका रूपमा बुझ्ने बढेका छन् ।

प्रदूषित पानी छान्ने काम गर्ने भएकाले सिमसारलाई प्राकृतिक मृगौला भनिन्छ । तर सिमसार क्षेत्र विभिन्न प्रकारका मानवीय तथा प्राकृतिक चापहरूको चपेटामा छ । मानव स्वास्थ्य, अर्थतन्त्र र प्राकृतिक पारिस्थितिक प्रणालीले प्रचुर मात्रामा जलवायु परिवर्तनको चाप खेपिरहेको छ । सिमसार क्षेत्रको पारिस्थितिक प्रणाली खलबलिएको छ । समुद्र सतहको वृद्धि, जलचक्रमा प्रभाव, पानीको तापक्रममा परिवर्तन तथा पानीकोउपलब्धता र गुणस्तरमा समेत परिवर्तन यसका उदाहरण हुन् ।

सिमसार जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा महत्त्वपूर्ण साधन बन्नसक्ने वैज्ञानिकहरूको विश्वास छ । उदाहरणका लागि कार्बनलाई जलवायु परिवर्तनको प्रमुख कारक तत्त्व मानिन्छ । यही कार्बनलाई सिमसारहरू खासगरी ‘पिट ल्यान्ड’ले अन्य क्षेत्रले भन्दा बढी सोस्छ र सञ्चय गरेर राख्छ, अनि जलवायु परिवर्तनको प्रभाव घटाउँछ ।रामसार महासन्धिको अध्ययन अनुसार पिटल्यान्डले मात्र ५५० गिगाटन कार्बन भण्डारण गरिराखेको अनुमान छ । जुन संसारभरको वन क्षेत्रले सञ्चय गरेर राखेको कार्बनभन्दा दोब्बर बढी हो । पिटल्यान्डले विश्वभरका जमिनको कुल क्षेत्रफलका ३ प्रतिशत क्षेत्रमात्र ओगटेको छ । विश्व खाद्य संगठनका अनुसार जमिनको माटोभित्र ३० प्रतिशत कार्बन सञ्चय हुने अनुमान छ ।

जलवायु परिवर्तनको बाढी एक महत्त्वपूर्ण पक्ष हो । सिमसारहरूले बाढी नियन्त्रणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । सामुद्रिक किनार वा तटका सिमसारहरूले नदीमा बाढीको उच्च छाललाई सबैतिर फैलाएर बाढीको प्रभावलाई घटाउने काम गर्छ । कतिपय स्थानमा मुसलधारे वर्षाका पानीलाई सिमसार क्षेत्रले सोसेर भण्डारण गरी तत्काल हुने भूक्षयको प्रक्रियालाई न्यूनीकरण गर्छ । यसरी भण्डारण भएको पानीले माटोको चिस्यान बढाउँछ । वनस्पति तथा जीवजन्तुको लागि उपलब्ध पनि हुन्छ । सुख्खा तथा खडेरी विरुद्ध सिमसार क्षेत्र अति उपयोगी हुन्छ । खासगरी ताल, पोखरी, जलाशय आदिले सुख्खा याममा मानिस तथा जीवजन्तुलाई पानी उपलब्ध गराउँछन् । खडेरीका कारण वनजङ्गल वा बस्तीहरूमा आगो तथा डढेलो लगायतका प्रकोप न्यूनीकरणमा पनि यसले सघाउँछ । सिमसारले जमिनभित्र वा मुनिको पानी भण्डारणमा समेत भूमिका खेल्छ र उर्वरतासमेत बढाउँछ ।

आजभोलि नेपालमा पनि सिमसार सम्बन्धी जनचेतना बढ्दै गएको छ । सिमसार क्षेत्रहरू मासिँदै गएकाले जागरुक स्थानीय समुदायको पहलमा बस्तीहरूमा विद्यमान ताल तथा पोखरी संरक्षण समितिहरू गठन भएका छन् । सिमसार क्षेत्रहरूको संरक्षण तथा पर्यटन प्रबद्र्धन गर्न स्थानीयवासी कस्सिएका छन् । प्रादेशिक सरकारहरूले वार्षिक कार्यक्रम अन्तर्गत नीति तथा बजेटमार्फत एक गाउँ एक पोखरीजस्ता अभियानहरू सञ्चालन गरेका छन् । गण्डकी प्रदेशले ताल संरक्षण तथा विकास प्राधिकरणको ऐनद्वारा व्यवस्था गर्नलागेको छ । प्रकोप न्यूनीकरणका लागि अनुकूलन तथा प्राकृतिक उपाय वा समाधानजस्ता विधिहरूमध्ये सिमसार क्षेत्र पनि एक हो । यही सन्देश विश्वबीच पुर्‍याउन शनिबार मनाइने ‘विश्व सिमसार दिवस’को नारा रामसार सचिवालयले ‘जलवायु परिवर्तन र सिमसार’ तय गरेको छ । नेपालमा सरकार, संघीय वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त रूपमा पोखरामा भव्य कार्यक्रम गर्दैछन् ।

कान्तिपुरबाट साभार

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*