क्रान्ति, शान्ति र नेपाल

२६ माघ २०७५, शनिबार १३:३३

-अभि सुवेदी
नेपाली राजनीतिक बहसमा अहिले नेपाली कमिनिष्ट नेता र सरकारका भाष्य अनि अमेरिका र पश्चिमी देशहरूसँगका सम्बन्धको विषयमा चर्चाहरू चलेका छन् । फरक–फरक धारणा भएका विद्वान र राजनीतिज्ञहरूले यस विषयमा छलफल गरेका लेख पढ्न पाइन्छन् ।भेनेजुएला भन्ने दक्षिण अमेरिकी देशको राजनीतिक अस्थिरताको बबन्डरमा त्यो देशको संसद्का अध्यक्ष हुवाँ ग्वाइदोले राष्ट्रपति निकोलस मदुरोको सट्टा आफूलाई राष्ट्रपति घोषित गरेको र तिनलाई अमेरिकाले समर्थन गरेको विषयलाई लिएर नेपाल कमिनिष्ट पार्टीको द्वैत अध्यक्ष मध्येका प्रचण्डले अमेरिकाको यस कदमलाई हस्तक्षेप भनेको विषयले सरकार, पार्टी अनि मिडियामा तरङ्ग ल्याएको छ ।

प्रचण्डले एक क्रान्तिकारी कमिनिष्टको परिचित भाष्यको प्रयोग गरेको कुरा अहिलेको चर्चाको विषय हो । प्रधानमन्त्री केपी शर्मा ओली डावोसबाट फर्केपछि सरकारको तर्फबाट आएको भाष्यमा केही परिवर्तन गरी यसलाई नरम बनाएको तर अमेरिकीहरूले चित्त नबुझाएको र प्रधानमन्त्रीले विदेशी नियोगका उत्तरदायी मानिसलाई बोलाएको मिटिङमा अमेरिकी राजदूत अनुपस्थित भएको कुरा अहिले छलफलमा आएका विषय हुन् ।

कमिनिष्ट पार्टीको मिटिङले भाषामा केही परिवर्तन गरे पनि हाम्रो भनाइ जे हुनुपथ्र्यो, त्यही नै रहेको छ भनेर प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका कुरा भाषा र साहित्यका विद्यार्थीका निम्ति पनि अर्थपूर्ण छन् । विगतमा हामी खासै कमिनिष्ट नै होइनौं भनिसकेका केपी शर्मा ओली र क्रान्तिकारी बाटोबाट चुनावमुखी लोकतान्त्रिक बाटोमा कमिनिष्टहरूको एकताको निम्ति हामी आएको र यो ऐक्य भएको दल नै कमिनिष्ट पार्टी हो भन्ने प्रचण्ड र साथीहरूको निम्ति यो सम्पादन र अर्थ व्याख्या गरिएको सानो वक्तव्य एक दोभान पाठ हो ।

यस्तो यात्राको मिलनबिन्दुलाई मेरी लुई प्राटले आफ्नो प्रसिद्ध किताब इम्पेरियल आइज ९२००३० मा यात्राहरूको दोभान वा ‘कन्ट्याक्ट जोन’ भनेकी छन् । अमेरिकाले दक्षिण अमेरिकी देशहरूमा विगतदेखि अहिलेसम्म आफ्नो प्रभुत्व र प्रभावको निम्ति काम गरेको कुरा सबैलाई थाहा भएकै विषय हो । सीआईएले आफ्ना करतुतले चिलीका कवि पाब्लो नेरुदाको अवसान गराएको घटना बिर्सन नसकिने विषय हो । अहिले यो लेखको विषय भने अलिक अर्कै छ ।

विद्वानहरूका विश्लेषण र सिद्धान्त पढेपछि अकस्मात लाग्यो, यो साधारण देखिने सम्पादनको बहस विगतका दुई कमिनिष्ट दल मिलेर समन्वय गर्न नसकेको बेला आएको एउटा रूपक हो, एक प्रतीक हो । यो अमेरिकालाई लेखेको चिठीको भाष्य कमिनिष्ट जगतमा र पार्टीले जारी गर्ने परम्परामा कुनै नयाँ कुरा नभए पनि यसको नेपालमा गरिएको प्रयोगले जुन नयाँ बहस सिर्जना गर्‍यो, त्यसको अर्थ अर्कै देखियो ।

नेताले अमेरिकाको आलोचना गरिसकेपछि त्यसमाथि कमिनिष्टकै सरकारले किन भाषिक बहस चलाउनुपर्‍यो रु त्यो मूल विषय हो । प्रचण्डले जारी गरेको भाष्य र सरकारी भाष्य अनि पार्टीले मन्थन गरेको शैली सम्पादनको बहसले नेपाली विभाग र प्रज्ञा प्रतिष्ठानका नेपाली भाषा व्याकरणका जौडे विद्वानलाई पनि चकित पारेको अवस्था छ, अहिले ।

यत्रो कमिनिष्टको सरकार भएको र यति धेरै कार्यकर्ता भएको देशमा पार्टी अध्यक्षको यो वक्तव्यले किन तरङ्ग ल्यायो भन्ने कुरा सबै छलफलमा उत्तर गरिएको पाइंँदैन । यो चिठीको भाषिक सम्पादनले राष्ट्रिय राजनीतिक अर्थ बोक्छ । भर्खरै वरिष्ठ कमिनिष्ट नेता वामदेव गौतमले कान्तिपुर टिभीसँग भने, ‘तीन वा यदाकदा ४ जनाले पार्टीमा काम पाएका छन्, हामी ७ लाख कमिनिष्ट छौं, नेपालमा । म लगायत कसैले पनि काम पाएका छैनौं ।’

अहिले दुई कमिनिष्ट दलको समन्वय हुन नसकेको अवस्था भनेको एउटा यस्तै पाठ लेख्न नसक्नुको अवस्था हो कि त । प्रचण्डले पहिले लेखेको भाष्य र त्यसको सम्पादनलाई नेपाल कमिनिष्ट पार्टीभित्रको भाषिक वाणीद्वन्द्व र त्यसको निदानको प्रयासको रूपमा लिनुपर्छ । नाम मात्रै अमेरिकालाई लेखिएको तर नेपाली कमिनिष्टहरूको बीचमा चलेका तरङ्गले देखाए अनुसार यो वक्तव्य र यसको शैलीमाथिका उथल–पुथल हेर्दा यो नेपाली कमिनिष्टले कमिनिष्टलाई नै लेखेर निदान खोजिरहेको एउटा अपूर्ण पाठ हो ।

प्रचण्डको यो पत्रलाई म एक कमिनिष्ट नेताको साधारण वक्तव्य मान्छु, जसलाई बुझ्न एकाध प्रसङ्ग ल्याउनु जरुरी छ । प्रचण्डले लेखेको वक्तव्य र सरकार र पार्टीद्वारा सम्पादित पत्रले भोलिका दिनमा नेपाल र अमेरिका अनि पश्चिमी मुलुकहरूसँगको सम्बन्ध भत्किनेछ भन्ने मलाई लाग्दैन । अमेरिकालाई यसको खासै महत्त्व हुने छैन । केवल अरू कसैको प्रभावले यस्तो लेखिएको हो कि भन्ने अमेरिकालाई लाग्न सक्छ, तर त्यसको पनि हल्लाउने अर्थ भेटिने छैन ।

यो पत्र एउटा कमिनिष्टले प्रयोग गरिबस्ने भाष्यको कलेवर हो । तर यसको बहसले के बुझियो भने नेपालका कमिनिष्टले प्रयोग गर्ने भाषा, कामको विधि, सिद्धान्तको पालना गर्दा यो भेगको र नेपालको लोकतान्त्रिक पद्धतिको सन्दर्भमा बढी असर पार्ने विषय के हुन् भन्ने कुरा यो चिठीले देखाएको छ ।

म कुनै सैद्धान्तिकभन्दा एउटा साहित्यिक प्रसङ्ग ल्याउन चाहन्छु । सुनित चोप्रा नाम भएका मभन्दा जेठा मेरा एक भारतीय मित्र कवि छन् । ती भारतीय कमिनिष्ट पार्टीका केन्द्रीय समितिका सदस्य र मजदुर संघका नेता पनि हुन् । सुनित अत्यन्त सक्रिय र बहुप्रतिभाशाली व्यक्ति हुन् । सुनितसँग म कवि र कला समीक्षक अनि कला प्रदर्शनीका आयोजकको रूपमा निकै वर्षदेखि नजिक भएको हुँ । उनलाई दक्षिण एसियाली साहित्य भेला र गोष्ठीको माध्यमले चिनेको हुँ । सन् १९६४ मा नै लन्डन सोआसबाट अनर्स लिएर ग्रेजुएट भएका, जेएनयुमा पीएचडी दर्ता गरेका सुनित जेएनयु विद्यार्थी युनियन खोल्ने प्रमुख व्यक्ति पनि हुन् ।

उनको विषयमा सूचना सजिलै पाउन सकिने हुनाले यसलाई यत्तिमै छाड्छौं । मैले सुनितलाई निकैपटक अनेकौं अवसरमा भेटिआएको छु । पछिल्लो पटक मैले सुनितलाई २०१७ को जुलाईमा दिल्ली दक्षिण एसियाली लेखक भेलामा भेटेँ । ऊसँग भएका कुराकानी र अनुभवलाई लिएर द काठमाडौं पोस्ट ९९ जुलाई २०१७० मा लेखेको पनि छु । सुनितले बुर्जुवा र समाजवादीहरूको भारतीय चरित्रबारे मलाई सुनाए । उनले भने भारतीय कमिनिष्ट पार्टीले चुनावमा जति थोरै सिट जिते पनि यसले एउटा समाजवादीको इतिहास र विचारको पहिचानलाई प्रस्ट गरेर राखेको छ, जसको प्रभाव राजनीति, साहित्य र कलामा रहिआएको छ ।

भारतीय कमिनिष्टको लामो इतिहास एउटा राजनीतिको मात्र नभएर संस्कृति, कला र नाट्यमञ्च वा भारतीय थिएटर र प्रदर्शनकारी कला समाजको इतिहाससँग पनि जोडिएको छ । इन्डियन पिपुल थिएटर असोसिएसन ९इप्टा० को विषयमा मैले सुनितसँग कुरा गरेको छु । मैले प्रसिद्ध बङ्गाली रङ्गमञ्चका महारथी ट्राटस्कीको ‘शाश्वत क्रान्ति’ भन्ने किताब पढ्ने उत्पल दत्त ९१९२९—१९९३० ले आफ्नो आत्मकहानीमा बयान गरेका सलिल चौधरी, रित्विक घटक, पानु पाल, मृणाल सेन, काली वनर्जी, निर्मल घोष, हेमाङ्गो विश्वास आदि वामपन्थी थिएटरकर्मीको विषयमा पनि छलफल गरें ।

सुनितले पछिल्लोपटक मलाई उनले ह्युगो चाभेजमाथि लेखिएको अंग्रेजी कविता दिए । उनले मैले अध्यक्षता गरेको गोष्ठीमा त्यो पाठ पनि गरे । नेपाली कवि गीता कार्कीले पनि उनीसँगै आफ्ना कविता सुनाएकी थिइन् । यो कविता सुनितले लेखेका अरू कविताभन्दा फितलो छ । मसँग अझै कहीं होला, त्यो । एउटा नैरन्तर्य भएको, संस्कृति र विचार रचना गरेको, नम्बुदरीपाद, श्रीपाद अमृत डाँगे आदि नेताहरूले चलाइआएको र अहिलेसम्म पनि चलिरहेको कमिनिष्ट पार्टीका आन्तरिक साधक सुनितको ह्युगो चाभेजमाथिको आकर्षण कमिनिष्टहरूको आफ्नो आन्दोलनका वैश्विक आन्दोलन र नेताहरूप्रतिको भावनात्मक विषय पनि हो ।

ल्याटिन अमेरिकी देशको कमिनिष्ट आन्दोलनमा केही बढी काल्पनिकी उजागर गर्ने किञ्चित् रोमानी सामथ्र्य पनि हुन्छ । फिडेल क्याष्ट्रो, चे ग्वेभारा, आयान्डे, पाब्लो नेरुदाका नाम जोडिएका हुन्छन् । तर धनी देश भएर पनि कन्तविजोग र अव्यवस्थित भएर ३० लाख मानिसले देश छाडेर हिँंडेको समाजवादी देश भेनेजुएलामा के–के कमजोरी भए रु र विदेशीले हात हाल्न पाए भन्ने कुरा कमिनिष्ट पार्टीहरूले राम्ररी बुझ्दा काम गर्न सजिलो हुनेछ ।

प्रचण्ड अरण्यबाट निस्केका धेरै वर्ष भएका छैनन् । गिरिजाबाबुले ‘ए हामीजस्तै पो रहेछन्, यी गुरिल्ला त’ भनेको १२ वर्ष पनि पुगेको छैन । त्यसैले उनले चाभेजले छानेका निकोलस मदुरोको समर्थनमा सन्देश पठाउनुमा म त्यही कमिनिष्ट संस्कार र परम्पराको नैरन्तर्य देख्छु र त्यही अर्थमा त्यसलाई स्वाभाविक पनि ठान्छु । नेपालका कमिनिष्टहरूले कतिसम्म वैश्विक कमिनिष्ट आन्दोलनका विषयलाई प्रयोग गर्न सक्छन्, त्यो उनीहरूको आफ्नै चुनौती हो । तर कमिनिष्ट आन्दोलन र सरकारहरूआफ्नै ठाउँ परिवेशले प्रभावित हुन्छन् भन्ने कुरा यसले प्रमाणित गरेको छ ।

नेपालमा भारतको दलीय संस्कारको प्रभाव निकै छ । गान्धीको शैलीमा सत्याग्रह गर्ने गोविन्द केसीको उपलब्धि दलका सरकारका उपलब्धिसँग तुलना गर्दा त्यति कम छैन । आज शान्तिपूर्ण आन्दोलन वा ‘सिभिल रेजिस्टेन्स’ एउटा परिवर्तनकारी शक्तिको रूपमा देखिएको सबभन्दा उल्लेखनीय देश नेपाल नै हो । क्रान्ति र शान्तिका उपलब्धिलाई साथै लिएर अघि बढ्ने अवसर भएको नमुना देश हो– नेपाल ।

-कान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*