कोहलीको शतक छायामा पार्दै अस्ट्रेलिया विजयी

२५ फाल्गुन २०७५, शनिबार ०८:२५

भारत भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको श्रृङ्खलामा आफूलाई कायमै राखेको छ। पहिलो र दोस्रो खेल गुमाएको अस्ट्रेलियाले तेस्रो खेलमा भारतलाई ३२ रनले पराजित गर्दै श्रृङ्खलालाई २–१ को अवस्थामा ल्याएको छ। कप्तान विराट कोहलीको सानदार शतकका बाबजुद भारत अष्ट्रेलियाले दिएको ३१४ रनको लक्ष्य भेट्टाउन असफल भयो। विशाल लक्ष्य पछ्याउने क्रममा भारत ४८.२ ओभरमा अल आउट हुँदै २८१ रनमा समेटियो। भारतका लागि कप्तान कोहलीले करियरको ४१ औं शतक प्रहार गरे पनि अन्य खेलाडीको राम्रो साथ नपाउँदा भारत पराजित हुन पुग्यो।

कोहलीले ९५ बलमा १६ चौका र एक छक्का प्रहार गर्दै १२३ रन बनाए। तर जितका लागि पर्याप्त भएन। भारतको सुरुवात नै खराब रह्यो। ओपनर शिखर धवन एक, रोहित शर्मा १४ र आम्बाती रायडू दुई रनमा पेभिलिएन फर्केपछि ६.२ ओभरमा २७ मा तीन विकेटको अवस्थामा पुगेको थियो। त्यसपछि एक छेउबाट कोहलीले विस्फोटक इनिङ खेल्दा अर्को तर्फको विकेट पतन भने रोकिएन्। अर्को तर्फबाट महेन्द्रसिंह धोनी र केदार जाधव समान २६ रन बनाउनु नै धेरै स्कोरका रुपमा रह्यो। त्यस्तै, कोहलीपछि विजय शंकर ३२ रन जोड्दा रविन्द्र जडेजा २४ रन जोडे पछिल्लो क्रममा कुलदीप यादवको १० रन रह्यो अन्यको प्रदर्शन भने दयनीय रह्यो।

त्यस अघि राँचीमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३१३ रन बनाएको थियो। अष्ट्रेलियालाई विशाल योगफल तयार पार्न ओपनर उस्मान ख्वाजाले आफ्नो ओडीआई करियरकै पहिलो शतक प्रहार गरे। उनले ११३ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै १०४ रनको महत्त्वपूर्ण योगदान दिए। त्यस्तै करियरको १२ औं शतक बनाउन सात रनले चुकेका कप्तान आरोन फिन्चले ९९ बलमा तीन छक्का र १० चौका प्रहार गर्दै ९३ रन बटुले। ओपनर फिन्च र उस्मानले पहिलो विकेटका लागि १९३ रनको सानदार साझेदारी गरेका थिए। पछिल्लो क्रममा ग्लेन म्याक्सवेलले पनि आक्रमक रुपमा रन बटुले। म्याक्सवेलले ३१ बलमा समान तीन छक्का र चौका प्रहार गर्दै ४७ रन बनाए। टीमको स्कोर ३०० कटाउन मार्कस स्टोइनिस ३१ र एलेक्स करी २१ रनको अविजित इनिङ खेलेका थिए। भारतका लागि कुलदिप यादवले तीन विकेट लिए। यी दुईबीचको चौथो खेल आगमी आइतबार हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*