फूलको विद्रोहः रुपान्तरण सहित उज्यालोको खोजी

१९ चैत्र २०७५, मंगलवार २१:०६

मकवानपुरे कवि अनिता न्यौपानेको कविताकृति फूलको विद्रोह रुपान्तरणसहितको उज्यालोको खोजी भएको बताइएको छ । हेटौंडामा मंगलबार न्यौपानेको कविताकृति गृह विमोचन तथा विमर्शमा न्यौपानेका कविताले उज्यालोको खोजी गरेको बताइएको हो । कविताकृति फूलको विद्रोह माथि कार्यपत्र प्रस्तुत गर्दै समिक्षक/ समालोचक घनश्याम घिमिरे कृतिमा समावेश भएका कविताले रुपान्तरणसहतिको उज्यालोको खोजी गरेको बताएका हुन् । उनले शब्दहरुको कलात्मक प्रयोगको रुपमा फूलको विद्रोह जन्मिएको उल्लेख गरे ।

कविताकृतिमा सर्जक बाँचेको जिवन, भोगेको समाज र देखेको अनुभूतिहरुलाई सुन्दर ढंगबाट प्रस्तुत गरेको उल्लेख छ । कृतिमा रहेका कविताले नारी अस्तित्वको खोजी, शहरिया जिवनको पिडा ,मातृबात्सल्य, देशभक्ति, बालमनोविज्ञान, प्रेमलगायतका विषयलाई समेटेको घिमिरेले बताए ।
कवि न्यौपानेका कवितामा प्रगतिशिल चेतना, रुपान्तरणको चाहना, भौतिकवादी जिवन दृश्टिकोण, समानताको आवाज,लैगिङ्क समानता र नारी अस्तित्वको खोजी गरेको पढ्न पाइने कार्यपत्रमा उल्लेख छ । भाषा शैलीका हिसाबले औसत भएपनि सरल भाषिक अभिव्यक्ति कविताको परिचय बनेको समिक्षक घिमिरेले बताए । कवितामा बिम्ब र प्रतिकलाई अभिव्यक्तिको मुख्य माध्यम बनाइएको उल्लेख छ । कवितामा अभिव्यक्तिको सरलता, समक्षिप्तता, आदर्श प्रेमप्रतिको आशक्ति रहेको घिमिरेले बताए । केही कवितामा समस्या रहेपनि इमान्दार लेखन प्रयत्नले त्यसलाई छायामा पारेको उनले उल्लेख गरे ।

कार्यक्रममा साहित्यकार तुल्सी थापा, आरसी रिजाल, तीर्थदेवि शिलवाल, निमेष निखिल, कवि अनिता न्यौपाने र साहित्यकार तथा मञ्जरी पब्लिकेशनका प्रमुख कृष्ण अविरलले कविताकृतिको गृहविमोचन गरेका थिए । यसअघि चैत २ गते कृति काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा विमोचन गरिएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि तुल्सी थापाले मकवानपुरे साहित्यलाई फराकिलो बनाउने क्षमता कवि न्यौपानेमा रहेको बताए । उनले लेखनलाई अझै परिस्कृत गर्दै साहित्यको यात्रामा लाग्न आग्रह गरे । साहित्यकार आरसी रिजालले कवि न्यौपाने साहित्य संगमले नै जन्माएको बताए । संगममै रहेर लेखन अघि बढाएकी न्यौपानेलाई कृतिको रुपमा देख्न पाउँदा खुशी भएको बताए ।

प्रकाशक तथा साहित्यकार कृष्ण अविरलले कवि न्यौपानेका रचना शसक्त रहेकाले नै प्रकाशन गरेको बताए । उनले मञ्जरी पब्लिकेशले प्रकाशित गरेका अब्बल कृतिमा फूलको विद्रोह पनि पर्ने जनाए । उनले कृतिको छिट्टै दोस्रो संस्करण प्रकाशित हुने जानकारी दिए ।यसैगरी कृतिकार अनिता न्यौपानेले सबैको सहयोगले लेखनमा प्रेरणा मिलेको बताइन् । उनले साहित्यमा लाग्दादेखि कृति प्रकाशितभएपछिसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । सबैको सहयोग र प्रेरणाले लेखनको यात्रामा अझ दरिलो रुपमा लाग्ने आँट आएको बताइन् ।

साहित्य संगमका अध्यक्ष अध्यक्ष निमेष निखिलको अध्यक्षतमा भएको कार्यक्रममा तिर्थदेवी शिलवाल, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, आच्ल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पूर्व सभासद प्रल्हाद लामिछाने, नेपाली कांग्रेसका नेता भीमसेन महत, नेकपाका नेता कमानसिंह पाख्रिन, विभिन्न साहित्यिक संस्थाका प्रमुख, साहित्यका तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*