सहकारीमा जोखिम व्यवस्थापनका उपायहरु

२० चैत्र २०७५, बुधबार १६:५०

– केशबप्रसाद दाहाल

सुरक्षा भन्नाले कुनै स्थान, वस्तु वा सम्पत्तिलाई हानी नोक्शानीबाट बचाउनु भन्ने बुझिन्छ । सुरक्षा आफैमा चुनौतीपूर्ण विषय हो । हरेक मानिस आफुलाई सदैव सुरक्षित र सबल बनाउन प्रयत्नशील रहन्छ चाहे त्यो खराब आचरण र व्यवहारमा नै लागेको किन नहोस । जस्तैं कुनै व्यक्तिको चोरी गर्ने आचरण छ भने पनि उसले आफुलाई प्रहरी तथा अन्य नागरिकको आँखाबाट बचाउन खोज्छ । त्यो नै उसको लागि सुरक्षा हो । यसरी हरेक क्षेत्रमा हरेक व्यक्तिले सुरक्षाको आवश्यक्ता महशुस गरेको हुन्छ तर सुरक्षा सजिलै प्राप्त गर्न सकिदैन । जसरी व्यक्तिले आफ्नो सुरक्षाको लागि आफ्नो आचरण, व्यवहार र कृयाकलापहरुमा सुधार गर्नु जरुरी रहन्छ त्यसरी नै व्यक्तिद्धारा प्रर्वद्धित व्यवसाय, सामाजिक संस्था वा आर्थिक संस्थाले पनि आफ्नो सुरक्षाको लागि आवश्यक व्यवस्थापन गर्नु जरुरी रहन्छ ।

२०४८ सालको कमजोर सहकारी कानुनी व्यवस्थाको उपज खुलेका करिब ३५ हजार सहकारीहरु आज अनगिन्ती सुरक्षाको चुनौती बोकेर संचालनमा रही रहेका छन । त्यस मध्येको बचत तथा ऋणको कारोबार गर्ने करिब १५ हजार सहकारी संस्थाहरु अधिकतम चुनौतीका साथ संचालित छन् तर जब कुनै सहकारी संस्थालाई समस्या पर्दछ उसले आफुले मात्रै महशुस गर्दछ कि सहकारीमा सुरक्षा सम्बन्धि चुनौती विधमान रहेछन ।

सहकारीमा पैदा भएका विधमान चुनौतीहरु :
कार्यालय व्यवस्थापन सम्बन्धि जोखिम :
अधिकाँस सहकारी संस्थाहरुको कार्यालयको ढाँचा व्यवस्थित रहेका छैनन् । स्थिर सम्पत्ति खरिद गर्ने साम¥थ्र्य नभएका कारण वा यति भए चलिहाल्छ नि भन्ने भावनाका कारण कार्यालयमा सुधार भएको छैन । भएका कार्यालयहरुमा पनि कारोबार तथा अभिलेखको सुरक्षाका लागि आवश्यक सचेतना नअपनाएको कारण चोरीका घटनाहरु बढ्दै गएको छ ।

समाधानको उपाय :
कार्यालयको प्रवेश द्धार सामुन्नेमा सदस्य स्वागत कक्षको व्यवस्था गर्ने, उक्त कार्यकक्षमा बस्ने कर्मचारीलाई सदस्य वा पाहुनाको आगमनमा स्वागतको संस्सकारको विकास गर्ने, उसको आगमनको उद्देश्यको सोध्ने र उसको उद्देश्य पूर्तिका लागि आवश्यक सहयोग गर्ने,
पर्याप्त प्रतिक्षाकक्ष सहितको काउन्टरको व्यवस्था गर्ने, काउन्टरमा प्रवेशद्धार अगाडिबाट नराख्ने, भित्र कसरी काम भई रहेको छ भन्ने देख्न नसक्ने बनाउने तर काम भई रहेको अनुभुति हुने हुनु पर्दछ ।
साकोसमा विभागिय संरचना तयार गरी विभाग अनुसार अलग अलग कार्यकक्षको व्यवस्था मिलाउने,
महत्वपूर्ण अभिलेखहरु भएको दराज वा ढुकटी सजिलै देख्न नसक्ने गरी राख्ने व्यवस्था मिलाउने,
कार्यालय कक्षहरु सकेसम्म एक कार्यकक्षबाट अर्को कार्यकक्षमा भएको कुराकानी नसुन्ने गरी व्यवस्थापन गर्ने,
विधुत, टेलिफोन र इन्टरनेटको तारहरुसंगै हुने गरी प्रयोग नगर्ने गरी व्यवस्थापन गर्ने,
संस्थाका अभिलेख तथा कागजपत्रहरु मुसा, ढुसी, ओसबाट बाँच्ने गरी व्यवस्थापन गर्ने,

नगद व्यवस्थापन सम्बन्धि जोखिम :
केही सहकारी संस्थाहरुले नगद मौज्दातको व्यवस्थापन उचित तरिकाले गरेको पाइदैन । कुनै सहकारीमा ढुकुटी (सेफ)को व्यवस्थाप नै भएको हुदैन, कुनैमा सेफ भएता पनि संस्थाको जिम्मेवार प्राप्त कर्मचारी वा संचालकको घरमा नगद मौज्दात राख्ने व्यवस्था गरेको पाईन्छ । ढुकुटीको वीमा गर्ने गरेको पाइदैन । ढुकुटीको वीमा गर्नेले पनि वीमा रकम भन्दा बढी रकम पनि राख्ने, नगद अभिलेख सोही दिनमा प्रमाणित नगर्ने वा अभिलेख नै नराख्ने, सबैले सजिलैसंग देख्ने ठाँउमा ढुकुटी (सेफ) राख्ने, ढुकुटी (सेफ) को साँचोको लिखित रुपमा जिम्मेवारी तोकेर नदिने, एकै व्यक्तिमा ढुकुटी (सेफ) को साँचोको जिम्मेवारी दिने जस्ता कमजोरीहरु हुने गरेका छन् ।

समाधानको उपाय :
न्यूनतम रकम मात्र ढुकुटी (सेफ) मा राख्ने,
नगदको वीमा गर्ने, वीमा रकम भन्दा बढी हुने गरी कहिल्यै पनि नगद नराख्ने,
ढुकुटी (सेफ) को साँचो दुईजना जिम्मेवार कर्मचारीलाई लिखित रुपमा जिम्मेवारी प्रदान गर्ने,
ढुकुटीमा नगद राख्नु पूर्व नोटको पूर्ण विवरण सहित नगद अभिलेख तयार गरी अधिकार प्राप्त व्यक्तिबाट प्रमाणित गरी राख्ने,
ढुकुटी (सेफ) राखेको कोठाको भित्तामा फलामको पाता राखी बाहिरबाट प्लाष्टर गर्ने,
ढुकुटी (सेफ) राखेको कोठामा २४ सैं घण्टा सिसी क्यामेराको निगरानी राख्ने,
ढुकुटी (सेफ) राखेको कोठा गोप्य हुनु पर्दछ भन्ने ख्याल गर्ने,
ढुकुटी (सेफ) कक्ष सामान्य अवस्थामा कसैले पनि नदेख्ने गरी व्यवस्थापन गर्ने, नगद निकाल्दा र नगद राख्दा बाहेक अन्य पूरा समय ढुकुटी (सेफ) कक्ष नियमानुसार बन्द गर्ने,

सिसी क्यामेरा प्रयोग सम्बन्धि जोखिम :
सहकारी संस्थाहरुले कार्यालयको सुरक्षाको लागि सिसी क्यामेरा राख्दा आवश्यक्ताको आधारमा राख्ने गरेको छैन । कतिपय सहकारीमा सिसी क्यामेराको नै व्यवस्था छैन भने भएकोमा कुन कार्यकक्षमा क्यामेरा राख्ने भन्ने न्यूनतम कुराहरुको पनि ख्याल गरिएको पाइदैन । कसको कार्यकक्षमा मोनिटरिङ्ग राख्ने भन्ने कुराको ख्याल गरिएको हुदैन । कतै आवश्यक्ता नभएको ठाँउमा समेत सिसी क्यामेरा राखी खर्च बढाएको देखिन्छ । यी कारण घटना घटेको समयमा उक्त उपकरणबाट सहयोग समेत प्राप्त गर्न सकिदैन ।
समाधानको उपाय :
कार्यालयको प्रवेशद्धारमा सिसी क्यामेराको व्यवस्था गर्ने,
नगदको कारोबार हुने काउन्टरमा बढी क्षमताको सिसी क्यामेराको प्रयोग गर्ने,
ढुकुटी (सेफ) को चौविसै घण्टा निगरानी रहन सक्ने गरी क्यामेरा जडान गर्ने,
क्यामेराको डिभिआर गोप्य ठाँउ वा सकेसम्म ढुकुटी रहेको कक्षमा राख्ने व्यवस्था मिलाउने,
रात्री समयमा कार्यालयको चारै दिशामा बत्तिको व्यवस्था गर्ने,
प्रत्यक्ष व्यक्तिहरुसंग सम्पर्क हुने कार्यकक्षमा सिसी क्यामेराको जडान गर्ने,

भाखा नाघेको ऋण व्यवस्थापन सम्बन्धि जोखिम :
सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लगानी गरेको ऋण तोकिएको समयमा अशुली हुन्छ भन्ने केही छैन । ऋण लिने समयमा सदस्यले भुक्तानीको लागि गरेको समझदारी अनुसार ऋण भुक्तानी नभएमा त्यस्तो ऋणलाई नियमानुसार भाखा नाघेको ऋणमा गणना गर्नु पर्दछ । धेरै ऋण भाखा नाघ्न जाँदा संस्थामा वित्तिय जोखिम बढ्दै जान्छ भने जोखिम कोष व्यवस्थामा अशर पर्दछ । संस्थामा नोक्शानी बढ्दै जान्छ । संस्थामा नोक्शानी बढ्दै जादाँ सदस्यको सन्तुष्टी कम हुन जान्छ र सदस्यले संस्था छोड्ने क्रम पनि बढ्दै जान्छ ।
समाधानको उपाय :
ऋणको अलग्गै कार्यकक्ष बनाउने,
ऋण हेर्नेका लागि कर्मचारीलाई जिम्मेवारी तोक्ने,
ऋण लगानी प्रकृया सुधार गरी प्रभावकारी लगानी प्रकृयाको अबलम्बन गर्ने,
भाखा नाघेको ऋण अशुली क्यालेण्डर बनाई सोही क्यालेण्डर अनुसार अशुली गर्ने प्रबन्ध मिलाउने,
भाखा नाघेको ऋणको लागि आवश्यक कोष व्यवस्था पूरा गर्ने,
ऋण अशुलीलाई प्रभावित हुने गरी कुनै पनि कृयाकलाप हुन नदिने

प्रविधीको प्रयोग सम्बन्धि जोखिम
सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको सेवालाई उत्कृष्ट बनाउनका लागि नविनतम प्रविधीको प्रयोग गर्नु जरुरी छ, नविनतम प्रविधी भित्र संस्थाको हिसाब किताब राख्नका लागि प्रयोग गरिने सफ्टवेयर पनि एक हो, तर कतिपय सहकारी संस्थाहरुको संचालनका संचालन प्रकृयालाई प्रभावकारी विश्वसनिय र पारदर्शी बनाउनका लागि अपनाउनु पर्ने प्रविधिहरुको प्रयोग र उच्च सुरक्षा गरेको पाईदैन । प्रविधी भित्र्याउनु मात्र पूर्णता होइन । यसको विश्वासनियता र प्रभावकारीतामा पर्याप्त ध्यान दिनु पर्ने हुन्छ । विश्वसनिय प्रविधी नभएमा संस्थाको सम्पूर्ण सूचनाहरुको दुरुपयोग हुन सक्दछ भने सुरक्षामा ध्यान नदिँदा भविष्यमा प्रविधीमा रहेको अभिलेख नष्ट समेत हुन सक्ने जोखिम विधमान रहेकोछ ।

समाधानको उपाय :
विश्वसनिय सफ्टवेयर मात्र प्रयोग गर्ने,
आफ्नो डाटावेस आफैंसंग सुरक्षित गर्ने व्यवस्था मिलाउने, (कम्तीमा एक्सर्टनल हार्डडिस्क, पेन ड्राइफ अथवा सिडीमा राख्ने)
सकेसम्म सर्भर कम्प्यूटरमा मात्र डाटा राख्ने व्यवस्था मिलाउने,
सर्भर कम्प्यूटरमा अन्य डेस्कटपको कुन पनि कामहरु नगर्ने,
सर्भर कम्प्यूटरमा नियमित अनिवार्य पावर व्याकपको व्यवस्था मिलाउने,
सर्भर कम्प्यूटरको डाटा कम्तीमा Google Drive/One drive राख्ने व्यस्वस्था मिलाउने,
सम्भव भएसम्म  Cloud मा Data Backup  राख्ने,
समय अनुकुलको antivirus को प्रयोग गर्ने,
संघ वा संस्थामा प्राविधीक ज्ञान भएको जनशक्तिको व्यवस्था गर्ने,
 Userनियन्त्रण विधी स्थापित गराउने
Web मा आधारित software संचालन गर्ने साकोसहरुले service set identifier (SSID) गोप्य राख्ने । software प्रयोग भई रहेको service set identifier (SSID) बाह्य व्यक्तिलाई प्रयोग गर्न नदिने,

जोखिम कुराकानी गरेर व्यवस्थापन हुन सक्दैन लिपीवद्ध गर्नु पर्दछ । हरेक किसिमको जोखिमबाट संस्थालाई बचाइराख्न हरेक जोखिम व्यवस्थापनका लागि संस्थामा नीतिको व्यवस्था भएको हुनु पर्दछ । घटना घटीसके पछि कसलाई के गर्ने र कसरी गर्ने भन्दा घटना घट्नु अगाडि नै कसरी संस्थालाई जोखिमबाट बचाउने भन्ने कुराको व्यवस्थापन गर्नु बढी बुद्धिमानी हुनुका साथै यदि घटना घट्नु पूर्व नै यसको समाधानका उपायहरुलाई लिपीवद्ध गर्ने हो भने जोखिम व्यवस्थापनमा सहयोग पुग्दछ भन्ने कुरामा सबै सहकारी अभियान्ताहरुले बुझनु जरुरी रहेको छ ।

(लेखक नेफस्कुनका तालिम अधिकृत हुन ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*