कालो वर्षको रुपमा रह्यो चलचित्र क्षेत्र २०७५

२९ चैत्र २०७५, शुक्रबार १८:५१

-श्रीराम अर्जुन

नेपाली चलचित्रको बजारमा यो वर्ष ९६ वटा चलचित्र रिलिज भए । औषत रुपमा हेर्दा हरेक हप्ता २ वटा चलचित्र रिलिज भएका छन् । वैशाख ७ गते ‘स्वर्ग मेरो गाउँ’बाट सुरु भएको चलचित्रको रिलिज प्रक्रिया चैत्र २९ गते रिलिज हुने ‘ए मेरो हजुर ३ र यात्रा’मा आएर यो वर्षका लागि टुङिगएको छ ।

वर्षभरि जम्मा ९६ वटा चलचित्र रिलिज हुँदा ब्लकबस्टर हुने चलचित्रको संख्या १ मात्र छ । यो वर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले १६ करोड भन्दा बढी ग्रस कलेक्शन(निर्माताका अनुसार) गरेको छ । यो बर्ष ब्लकबस्टर हुने एक मात्र चलचित्रमा पर्छ ‘छक्का पन्जा ३’ ।

यस्तै, यो बर्ष नै रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ५’ सुपरहिट भएको थियो । चलचित्रले नेपालबाट निर्मातालाई राम्रै शेयर दिएको छ । यस्तै, यो वर्षको दशैंमा नै रिलिज भएको चलचित्र ‘जय भोले’ले नेपाली पर्दाबाट लगानी मात्र उठाएको छ । यस्तै, नेपालबाट मुश्किलले लगानी उठाउने चलचित्रमा ‘यी बाहेक केही चलचित्रमात्र छन, जुन औषत चलेका छन् । यो वर्ष औषत चलेका चलचित्रहरुमा ‘रामकहानी, इन्टु मिन्टु लण्डनमा, प्रसाद, क्याप्टेन’ लगायतका छन् । जसले नेपाली बक्स अफिसमा औषतको कमाई गरेका छन् । औषत चलेका यी चलचित्रबाट पनि निर्माता सुरक्षित भने छैनन् ।

यी बाहेक जतिपनि चलचित्र रिलिज भएका छन्, , ती सबै चलचित्रले निर्मातालाई ठूलै नोक्सान दिएका छन् । केही चलचित्रले नेपाली बक्स अफिस, डिजिटल विक्री, विदेशी बजारबाट लगानी त उठाएका होलान् तर नेपालका हलबाटै चलचित्र सफल नभएसम्म त्यसलाई सफल भएको मान्न सकिदैन ।

वैशाख

यो वर्षको सुरुवाती महिना वैशाखमा रिलिज भएका चलचित्रहरुमा ‘स्वर्ग मेरो गाउँ, कोहलपुर एक्सप्रेस, ह्याप्पी डेज, डमरुको डन्डिबियो, भोर, लम्फू, हिरोज’ छन् । यी सबै चलचित्रले बक्स अफिसमा कमजोर व्यापार गरेका थिए ।

जेठ

जेठमा रिलिज भएका चलचित्रहरुमा ‘हैरान, सुनकेशरी, अफिसर, कोशेली, अमेरिकन ब्वाइज, बेबी आई लभ यू, चंगा, मट्टीमाला’ छन् । यी सबै चलचित्र बक्स अफिसमा असफल भए ।

असार

असारमा चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ, ए सोल्टिनी, चोखो माया, बोबी, बाबु कान्छा, विरंगना, यो पागल मन’ रिलिज भए । यो महिनामा रिलिज भएका कुनै पनि चलचित्रले हलबाट नाफा कमाएनन् । चलचित्र ‘बोबी’ भने चर्चा राम्रै भयो ।

साउन

साउनमा चलचित्र ‘भैरे, पण्डित बाजेको लौरी, चक्कर, सुकुल गुण्डा, रोमियो एन्ड मुना, ची मुसी चु, कायरा, झमक बहादुर, कही कतै, टीनएज, पिरिम पर्या छन्’ रिलिज भएका थिए । यी सबै चलचित्रले बक्स अफिसमा कमजोर कारोबार गरेका थिए ।

भदौ

भदौ १ गते रिलिज भएका ‘जय शम्भु, ब्ल्याक, मिस्टर भर्जिन’ बक्स अफिसमा पछारिए । भदौ ८ मा रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ५’ले बक्स अफिसमा राम्रो कमाई गर्यो । यो बर्षको पहिलो सुपरहिट चलचित्र यही बन्यो । यो बाहेक यो महिनामा ‘मेरी मामु, रामकहानी, रोज, साली कसको भेनाको’ पनि रिलिज भयो ।

असोज

असोजमा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा, बाँध मायाले, धुम ३, कथा काठमाण्डौ, अनुराग, निर्जला, छक्का पन्जा ३, जय भोले’ रिलिज भएका थिए । यसमध्ये ‘इन्टु मिन्टु लण्डनमा’को व्यापार औषत रह्यो । चलचित्र ‘छक्का पन्जा ३’ सर्वाधिक कमाई गर्ने चलचित्र बन्यो । यो चलचित्रले १६ करोड बढी ग्रस कलेक्शन गरेको बताइन्छ । यो बर्षको एक मात्र ब्लकबस्टर चलचित्र यही नै हो । यस्तै, चलचित्र ‘जय भोले’लेले बक्स अफिसमा औषतको कमाई गरेको छ ।

कात्तिक
कात्तिक महिनामा ‘चंगाचेट, मालिका, गुनगुन, दैलो’ रिलिज भए । कुनै पनि चलचित्रले हलबाट नाफा कमाएनन् ।

मंसिर

मंसिर महिनामा ‘ड्रीम गर्ल, कोइला, शान्ती, प्रसाद, सुश्री सम्पत्ती, डोली, कथा ७२’ रिलिज भएका थिए । यसमध्ये समिक्षकको नजरमा ‘प्रसाद’ले निकै तारिफ पायो । नेपालबाट लगानी नै उठाउन नसकेपनि ‘प्रसाद’को व्यापारलाई औषत मान्न सकिन्छ ।

पुष

पौष महिनामा रिलिजमा आएका ‘गोल, जय श्री दाम, जे सुकै होस, चौका दाउ, भिलेन’ सबै असफल भए । नेपाली चलचित्रका लागि पुष महिना फासफुस नै भयो ।

माघ

माघ महिनाको जाडोमा ‘गरुड पुराण, आरोप, बैना, गोपी, रणवीर, सय कडा दश, समर लभ’ रिलिज भए । निकै आशा गरिएका र उच्च प्रचार गरिएका चलचित्र ‘गोपी, रणवीर, समर लभ’ बक्स अफिसमा नराम्रोसँग पछारिए ।

फागून

फागूण महिनामा रिलिज भएको चलचित्र ‘बुलबुल’ले बक्स अफिसमा कमजोर कमाई गर्यो । तर, यो चलचित्रलाई समिक्षकले उत्कृष्ट भनेका छन् । यस्तै, यो महिना नै ‘जादुगर २ जोकर, रुमालै छ चिनो, फिंगर प्रिन्ट, क्याप्टेन, दि ब्रेकअप, खाग, अदालत’ रिलिज भए । यी मध्ये यो महिना चलचित्र ‘क्याप्टेन’ले औषत कमाई गर्यो । ‘बुलबुल र क्याप्टेन’बाट दर्शक र चलचित्रकर्मीले ठूलो आशा गरेका थिए । तर, व्यापार त्यो अनुसार भएन ।

चैत्र

चैत्रमा अहिलेसम्म ‘जानी नजानी, दि म्यान फ्रम काठमाण्डौ, पुरानो बुलेट, कागजपत्र, प्रेमलिला, साइँली, शुभ लभ, लभ स्टेशन’ रिलिज भैसकेका छन् । यसमध्ये ‘लभ स्टेशन र साइँली’ औषत व्यापार गरेको छ । चैत्र २९ गते आजबाट रिलिज भएकोे चलचित्र ‘यात्रा र ए मेरो हजुर ३’ आशा धेरै गरिएको छ ।

नेपाली चलचित्रका लागि यो वर्ष ‘कालो वर्ष’को रुपमा रहेको छ । किनकी, यो वर्ष रिलिज भएका ९६ वटा चलचित्रमा जम्मा २ वटाले मात्र निर्मातालाई नाफा दिन सक्नु आफैमा उदेकलाग्दो कुरा हो । करिब २ अर्ब भन्दा बढी लगानी भएको चलचित्र क्षेत्रले यसपटक धेरैलाई सडकमा ल्याइदिएको छ । यसैले पनि नेपाली चलचित्रका लागि वर्ष २०७५ निकै नै खराब वर्षको रुपमा रह्यो ।

-विभिन्न पत्रपत्रिका र अनलाईनको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*