माग अनुसारको नयाँ युनिट निर्माण गर्न सकिएन: सशस्त्र प्रहरी महानिरीक्षक

२ बैशाख २०७६, सोमबार १५:१०

काठमाडौं \ सशस्त्र प्रहरी बल, नेपालले स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालको कामको विवरण सार्वजनिक गर्दै स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जानकारी गराएका हुन् ।

सोमबार काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको कार्य प्रगति विवरणमा सशस्त्र प्रहरी बलको नयाँ युनिट स्थापनाका लागि १ सय ६९ वटा स्थानमा माग भएपनि साधन,स्रोत र जनशक्तिको अभावमा स्थापना गर्न नसकिएको उल्लेख गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले ठूला जलविद्युत आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनाहरुमा सशस्त्र प्रहरी बलको माग भइरहेको तर जनशक्तिको अभावमा सो माग पूरा गर्ने अवस्था नरहेकोे पनि स्पष्ट पारे ।

सशस्त्र प्रहरी बल, नेपालले कर्मचारीको अभाव पूर्तिका लागि ३ हजार ४ सय १ जना कर्मचारी भर्ना छनौट प्रक्रिया पनि सुरु गरिएको जानकारी दिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले कर्मचारीहरुको अभाव पूर्ति गर्दै लैजाने योजना अन्तरगत विभिन्न पदका लागि कर्मचारी भर्ना प्रक्रिया सुरु गरिएको पनि बताए । उनले कर्मचारी भर्ना प्रक्रियालाई थप व्यवस्थित बनाउने काम पनि आफ्नो एक वर्षे कार्यकालमा भएको दावी गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय कार्यालय र देशभरका सबै युनिटहरुमा इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य लिइएको पनि बताए । उनले सशस्त्र प्रहरी बललाई थप मजबूत बनाउन आवश्यक प्रविधि भित्र्याउन पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*