११ विधामा २२ जनालाई पदक दिने तयारीमा प्रदेश ३ सरकार, यस्ता छन्, विधाहरु

३ जेष्ठ २०७६, शुक्रबार १८:३५

सिधाखबर  \ संघीय सरकारले विभिन्न विभुषण बाँडेजस्तै  प्रदेश ३ सरकारले पनि २२ वटा पदक बाँड्ने भएको छ । प्रदेश सरकारले प्रदेशसभामा दर्ता गराएको ‘विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा यस्तो उल्लेख गरिएको छ । प्रदेशस्तरमा ११ विधामा २२ वटा पदक तथा सम्मान प्रदान गरिने उल्लेख छ ।

आन्तिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयकमा प्रदेश शान्ति तथा सुरक्षा अन्तरगत प्रदेश रक्षक, शान्तिमाला र शान्तिदीप, प्रदेश शिक्षा, स्वास्थ्य तथा खेलकुद अन्तरगत शिक्षातर्फ प्रदेश दीप, स्वास्थ्यतर्फ मुत्युञ्जय र खेलकुदतर्फ प्रदेश सान, प्रदेश कृषि तथा सहकारी अन्तरगत कृषितर्फ कृषिकिरण र सहकारीतर्फ सहकारी प्रवर्द्धन, प्रदेश उद्योग , पर्यटन विकास तथा वातावरण संरक्षण अन्तरगत उद्योगतर्फ उद्यमशिलता, पर्यटनतर्फ प्रदेशद्रष्टा र वातावरणतर्फ वातावरण संरक्षण पदक प्रदान गरिने छ ।

त्यस्तै, प्रदेश पुर्वाधार विकास अन्तरगत विकास सेवी, प्रदेश सूचना तथा सञ्चार अन्तरगत प्रदेशदूत, प्रदेश विज्ञान तथा प्रविधि अन्तरगत विज्ञानतर्फ अन्वेषण, प्रविधितर्फ नव प्रवर्तन, प्रदेश भाषा, कला तथा संस्कृति र साहित्य अन्तरगत भाषातर्फ सुभाषिक, कलातर्फ कलाकीर्ति, संस्कृतितर्फ संस्कृतृदीप र साहित्यतर्फ प्रदेश श्रष्टा पदक दिईने विधेयकमा उल्लेख छ । विधेयकमा प्रदेश सार्वजनिक प्रशासन तथा सुशासन अन्तरगत जनसेवा, विपद व्यवस्थापन अन्तरगत विपदसेवी र समाजसेवा लोककल्याण अन्तरगत प्रदेश परोपकार पदक दिईने उल्लेख छ ।

प्रदेश सरकारले प्रदान गर्ने पदक तथा सम्मान सिफारिस गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री अध्यक्ष, प्रदेश सरकारका प्रमुख सचिव सदस्य, प्रदेशमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रीपरिषदले तोकेको एक महिलासहित तीन जना सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य सचिव रहेको ६ सदस्यीय समिति रहने व्यवस्था गरिएको छ । समितिले सिफारिस गरेको व्यक्तिलाई प्रदेश सरकार स्थापना भएको दिन माघ २९ गते पदकसहित सम्मानपत्र प्रदान गरिने विधेयकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*