कांग्रेसको विकल्प अन्य पार्टी छैनः नेता के.सी.

१२ जेष्ठ २०७६, आईतवार १६:५८

हेटौंडा \ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी. ले नेपालको लागि कांग्रेसको विकल्प अन्य पार्टी र शक्ति नभएको बताउनुभयो । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको अायोजनामा अाईतबार पदमपोखरीमा भएको जागरण अभियानमा बोल्दै प्रमुख अतिथि नेता केसीले कांग्रेसबाहेक कुनै लोकतान्त्रिक शक्ति नेपालको भविष्य निर्माणको विकल्पमा अहिलेसम्म नदेखिएको बताउनुभएको हो । नेता के.सी.ले अहिलेका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा अाेली दुईतिहाईको दम्भले निन्द्रामा पनि बर्बराउने गरेकाे भन्दै जतिबेला जे पनि गर्न सक्ने भएकाले कांग्रेसले त्यसकाे सामना गर्न तयार रहेको बताउनुभयो ।

देश र जनताको साख, सम्मान गर्दै तीनवटा ठूला एेतिहासिक अान्दोलन गरेर देशलाई यो स्थानमा ल्याउन सफल भएको बताउँदै पार्टीभित्र केही कमीकमजोरी रहेको बताउँदै बृहत् छलफल र समिक्षाबाट कांग्रेस अब एकढिक्का भएर लाग्ने बताउनुभयो । कम्युनिष्ट सरकारले गरेका नेपालको कानून र संविधान मिच्दै विभिन्न गलत निर्णय, वाईडबडीदेखि जलविद्युतसम्म व्यापक भ्रष्टाचार, शोषण, हत्याहिंशा बलात्कारीलाई प्रश्रय मात्रै दिईरहेकाले यसको बारेमा अाम जनतालाई जानकारी गराउँदै खबरदारी र भण्डाफोर गर्नको लागि कांग्रेसले देशैभर जागरण अभियान थालेको बताउनुभयो ।

विशिष्ठ अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्ट सरकार यसरी नै दम्भ गर्दै र निरंकुशतातर्फ जाने हो भने विश्वबाट पलायन भएको कम्युनिष्ट शासन नेपालबाट पनि विस्तारै टुट्दै पलायन भएर जाने बताउनुभएको छ । कांग्रेस सरकारमा हुँदा सबैलाई मिलाएर सबैको साथ र सहभागितामा हिडेको बताउँदै कम्युनिष्ट सरकार एकपछि अर्को कानून र संविधान मिच्दै हिडेकाले नेपालबाटसमेत कम्युनिष्ट सरकार पतनको संकेत देखिएको बताउनुभयो । कांग्रेस अब विगतमा कांग्रेसले गरेको विकास निर्माण र अहिले कम्युनिष्ट सरकारले गरेको बलमिच्याई, भ्रष्टाचार, गुण्डागर्दी, सरकारी निकाय, कर्मचारीतन्त्र र जनप्रतिनिधिहरुले गरेको घुसखोरीको बारेमा जागरण अभियानमार्फत भण्डाफोर गर्ने बताउनुभयो ।

त्यस्तै विशिष्ठ अतिथि कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले देशका ठूला घट्नाक्रमको प्रमूख भूमिका र नेतृत्वमा कांग्रेसले राणा, पञ्चायत र राजा फाल्दै जंगलमा हतियार लिएर जनता तर्साउँदै बसेको माअोवादीलाई संसदमा ल्याएर संविधानसभा निर्वाचन गराई तीनै चरणको निर्वाचन गराउन सफल भएको बताउनु भएको छ ।

नेता बानियाँले दुईतिहाईको सरकार भन्दै घमण्ड गरेर उखानटुक्कामा मात्रै सीमित कम्युनिष्ट सरकार विकाशनिर्माणमा शून्य रहेको बताउँदै कम्युनिष्ट सरकार बनेको दुईवर्ष वित्न लाग्दा गरिब जनतामा राहात भन्दा निरंकुशतातर्फ उन्मुख भईरहेकाले बाध्य भएर जागरण अभियानमार्फत जनतालाई जानकारी गराउँदै खबरदारी गराउन कांग्रेस लागिपरेको बताउनुभयो । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति अानन्दराम पराजुलीको सभाध्यक्षता एवं केन्द्रीय प्रतिनिधि, केन्द्रीय सदस्य के.सी.को प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा पार्टी जिल्ला सदस्य एवं तरुण विभाग प्रमुख अर्जुन तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । जागरण अभियान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४ सय ३७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा पार्टी जिल्लाका पदाधिकारीहरु, पूर्व सभापतिहरु, सल्लाहकारहरु, जिल्ला सदस्यहरु, महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रीय समितिका पदाधिकारी, सदस्यहरु, हेटौंडा उपमहानगरपालिकाका पदाधिकारीहरु, भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरु, हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु, क्रियाशिल सदस्य, साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*