२२ वटा पदक बाँड्ने बाटो खुल्यो प्रदेश ३ सरकारलाई

१७ जेष्ठ २०७६, शुक्रबार १७:१९

हेटौंडा \ प्रदेश ३ सरकारले संघीय सरकारले जस्तै विभिन्न व्यक्तित्वलाई विभूषण तथा पदकले सम्मान गर्ने बाटो खुलेको छ। शुक्रबारको प्रदेशसभाको बैठकबाट ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पास भएपछि  प्रदेश सरकारलाई बाटो खुलेको हो।

विधेयकको सैद्धान्तिक छलफलमा कार्यकर्ता र आफ्ना मान्छेलाई दिन पदक र सम्मान ल्याएको भन्दै चर्को आलोचना गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस विपक्षी दलहरू, विवेकशील नेपाली दल, नेमकिपा, राप्रपा संयुक्त, राप्रपाको पनि समर्थनमा विधेयक पास भएको हो।   विधेयकमा कुनै पनि संशोधन नपरेपछि विधेयकको दफाबार छलफलका लागि संसदमा प्रस्तुत भएको थियो। तर, कुनै पनि सांसदले बोल्न नखोजेपछि विधेयकलाई सर्वसम्मतले पारित गरेको थियो। विधेयकमा ११ विधामा २२ वटा पदक तथा सम्मान प्रदान गर्ने उल्लेख छ।

विधेयकमा शान्ति तथा सुरक्षाअन्तर्गत प्रदेश रक्षक, शान्तिमाला र शान्तिदीप, शिक्षातर्फ प्रदेश दीप, स्वास्थ्यतर्फ मुत्युञ्जय र खेलकुदतर्फ प्रदेश सान, कृषितर्फ कृषि किरण र सहकारीतर्फ सहकारी प्रवर्द्धन, उद्योगतर्फ उद्यमशिलता, पर्यटनतर्फ प्रदेश द्रष्टा र वातावरणतर्फ वातावरण संरक्षण पदक प्रदान गर्ने उल्लेख छ।

त्यस्तै, पूर्वाधार विकासअन्तर्गत विकाससेवी, सूचना तथा सञ्चार विधाअन्तर्गत प्रदेश दूत, विज्ञानतर्फ अन्वेषण, प्रविधितर्फ नव प्रवर्तन, भाषातर्फ सुभाषिक, कलातर्फ कलाकीर्ति, संस्कृतितर्फ संस्कृति दीप र साहित्यतर्फ प्रदेश श्रष्टा पदक पनि वितरण गरिनेछ। यसैगरी, प्रदेश सार्वजनिक प्रशासन तथा सुशासनअन्तर्गत जनसेवा, विपद व्यवस्थापनअन्तर्गत विपदसेवी र समाजसेवा लोक कल्याणअन्तर्गत प्रदेश परोपकार पदक दिइने विधेयकमा उल्लेख छ।

विभूषण तथा पदक सिफारिस गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री अध्यक्षको नेतृत्वमा समिति गठन गरिनेछ। समितिमा प्रदेश सरकारका प्रमुख सचिव सदस्य, प्रदेशमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषदले तोकेको एक महिलासहित तीनजना सदस्य रहनेछन्। सो सिफारिस समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*