बन्दले हेटौंडाको जनजीवन प्रभावित

१० असार २०७६, मंगलवार ०८:५०

हेटौंडा \ विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण हेटौंडाको जनजीवन प्रभावित बनेको छ ।

हेटौंडामा साविकझैं गाडी चलेका छैनन् भने अघिकांश शैक्षिकसंस्था बन्द भएका छन् । यस्तै छोटो तथा लामो दुरीका सवारीसाधन चलेका छैनन् । मोटरसाइकल अटो-रिक्साहरु मात्र चलेका छन् । कुनै अप्रिय घटना हुन नदिन मकवानपुर प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । कुनै पनि अराजक गतिविधि हुन नदिन ठाउँठाउँमा प्रहरी टोलि खटाईएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए ।

पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज नेपाल बन्दको घोषणा गरेको हो । गत शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको विप्लव महासचिवले निकालेको विज्ञप्तिमा उल्लेख छ । पौडेलको गत विहिवार प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*