नेपाली कांग्रेसले लगायो कैलाश गाउँपालिकामा ताला

१७ श्रावण २०७६, शुक्रबार १७:१६

कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ । वडाबाट सिफारिस भएका योजनालाई गाउँपालिकाले समावेश नगराएको, समयमा बजेट नल्याएको र कम्युनिष्ट पार्टीबाट जितेका अध्यक्षको वडामा मात्र बजेट खन्याउन लागेको भन्दै कांग्रेसले शुक्रबार गाउँपालिकामा तालाबन्दी गरेको हो ।

कैलाश गाउँपालिकाले शुक्रबार बल्ल बजेट ल्याउने तयारी गरेको थियो । बिहीबारको कार्यपालिका बैठकमा भएको छलफलको क्रममा कांग्रेसले जितेको वडामा बजेट र कार्यक्रम कम पार्न लागेको, गाउँपालिका अध्यक्षले मनलाग्दी योजना र बजेट छुट्याएको बिषय बाहिर आएपछि बाध्य भएर गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको कांग्रेस क्षेत्रीय सभापति लोक मुक्तानले जानकारी दिए ।

‘अरु स्थानीय तहले बजेट कार्यान्वयनको क्रम सुरु गरिसक्दा कैलाशले बल्ल बजेट ल्याउन लागेको छ’, उनले भने, ‘त्यो पनि कसैलाई काखा र कसैलाई पाखा गरेर हुन्छ ? कुन वडा कसले जितेको छ भन्ने आधारमा बजेट विनियोजन गरिन्छ कि आवश्यकताको आधारमा ?’ गाउँपालिका अध्यक्षले अनावश्यक दम्भ देखाइरहेको कांग्रेसको आरोप छ । गाउँपालिकाको कार्यालयमा लगाइएको ताला फुटाएमा त्यसबाट आइपर्ने अवस्थाको जिम्मेवार गाउँपालिका नै हुने चेतावनी समेत कांग्रेस नेताहरुले दिएका छन् । कांग्रेसले यसअघि पनि गाउँपालिका उपाध्यक्षलाई भेटेर विभिन्न ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

त्यसको कुनै कार्यान्वयन नभएको भन्दै कांग्रेस क्षेत्रीय सभापति एवम् यसअघिको निर्वाचनमा कैलाश गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रहेका लोक मुक्तानले यसरी नै पेलेर मनलाग्दी ढंगले जान खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । कांग्रेस नेताहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्नुका साथै नाराबाजी समेत गरेका थिए । कांग्रेस जिल्ला सदस्य ज्ञानबहादुर डिमडुङ, क्षेत्रीय सदस्य मानबहादुर वाइवा, सिताराम सिन्तान, नेताहरु गुणराज स्याङ्तानसहित तरुण नेताहरुको उपस्थितीमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*