उद्योगका कर्मचारीलाई हटाई मन्त्रीहरू बस्दै

२६ श्रावण २०७६, आईतवार ११:३०

सिधाखबर \ बन्द र रुग्ण भएकामा मात्र होइन, चालू अवस्थामै रहेको उद्योगमा समेत मन्त्रीनिवास बनाइएको छ । उद्योगका कर्मचारी बस्ने भवनहरूमा अहिले प्रदेश ३ का मन्त्रीहरूको निवास बनाइएको छ । ८ माघ ०७४ मा प्रदेश सरकार गठन भएपछि सबै मन्त्री हेटौँडा सिमेन्ट उद्योगका भवनमा बस्न थालेका हुन् । मन्त्रीहरूले उद्योगलाई नै घरहरू मर्मतसम्भार र रङरोगन गरेर झकिझकाउ बनाउन लगाए ।

आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्थामन्त्री दावादोर्जे लामा र सामाजिक विकासमन्त्री युवराज दुलालको सरकारीनिवास उद्योगका भवनमा बनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उद्योगका ८, ९ र १० तहका कर्मचारीलाई दिइएको क्वार्टरमा मन्त्रीहरू राखिएको हो । उद्योगको पूर्वी भागमा सुविधा र व्यवस्थापनको आधारमा बी, सी, डी र ई ब्लक रहेकोमा बी ब्लकलाई मन्त्रीनिवास बनाइएको छ । सो ब्लकमा बस्दै आएका कर्मचारीलाई सी र डीमा स्थानान्तरण गरिएको छ । ब्लक परिवर्तन गर्दा आफूहरूलाई समस्या भएको उद्योग प्रशासनिक विभाग प्रमुख गणेश कोइरालाले बताए ।

अर्को व्यवस्था नभएसम्मका लागि भन्दै उद्योगमा मन्त्रीनिवास बनाइएको थियो । आफूहरूको आवास लामो समयसम्म मन्त्रीले प्रयोग गर्दा समस्या भइरहेको उद्योगका कर्मचारीहरूको गुनासो छ ।

आजको नयाँ पत्रिकामा सुदिप शिवाकोटीले समाचार लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*