रविलाई अदालतको शर्त : विदेश जान स्वीकृति लिनुपर्ने, कार्यक्रममा मुद्दाबारे बोल्न नपाइने !

रवि र युवराज धरौटीमा रिहा, अस्मिता भने साधारण तारेखमा
९ भाद्र २०७६, सोमबार १९:४२

काठमाडौं \  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कंडेल धरौटीमा रिहा हुने भएका छन् । नर्स अस्मिता भनिने रुकु कार्की भने साधारण तारेखमा रिहा भएकी छन् ।

पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप लागेका रविलाई ५ लाख र युवराजलाई ३ लाख धरौटीमामा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको हो । रवि र युवराजलाई विदेशमा जानुअघि अदालतसँग स्वीकृत लिनुपर्ने र पुडासैनी आत्महत्या प्रकरणसम्बन्धी कुनै पनि विषयमा कार्यक्रम देखाउन नमिल्ने आदेशमा उल्लेख रहेको अदालत स्रोतले लोकान्तरलाई जानकारी दियो ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आइतवार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यससँगै रवि सहितका तीनै जना पक्राउ परेको १२ दिनपछि रिहा हुने भएका छन् ।

यसअघि जिल्ला अदालतबाट २ पटक गरी १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले प्राप्त प्रमाणसहितको अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियोमा रवि, युवराज र अस्मिताले आफूलाई मर्न बाध्य पारेको भनी आरोप लगाएका छन् ।-लोकान्तरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*