आज देशभर बालबालिकालाई भिटामिन ए खुवाउदैं

करिव २७ लाख बालबालिका लाभान्वित हुदैं
२ कार्तिक २०७६, शनिबार ०६:१८

सिधाखबर \ आज देशभरमा करिव २७ लाख बालबालिकालाई भिटामिन “ए“ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल ) खुवाउने भएको छ । खुवाउनको लागि सम्पूर्ण तयारी पूरा गरि आज खुवाउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै स्थानिय तहको वडा सम्म आज कात्तिक २ र भोली ३ गते कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

कार्यक्रम अन्तर्गत छ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप समेत लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन हुने बताए । मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । ती कार्यक्रमका लागि करिब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ । सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*