हरिबोधनी एकदशी: ऐतिहासिक मकवानपुरगढीमा एकदशी मेला

२२ कार्तिक २०७६, शुक्रबार ११:३८

सिधाखबर \ आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि (विष्णु)को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । आजको दिनमा विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने प्रचलन रहेको छ ।

हरिवोधनी एकादशीको दिन आज मकवानपुरको ऐतिहासिक गढी मकवानपुरगढी दरवार परिसरमा ठुलो एकादशी मेला लाग्ने गर्दछ । गढी दरबार भित्र बंशगोपालको मन्दिर रहेको छ । आज विहानै ५ बजे देखिनै व्रतालु र जात्रा मनाउनेहरुको ठुलो भिड लागेको छ ।

मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, हेटौंडाको हटिया हर्नामाडी, बकैयाको ठिङगन लगायत मकवानपुरको विभिन्न स्थानबाट मेलामा आउने गरेको मकवानपुरगढी वडा २ का अध्यक्ष बखान सिं पाख्रीनले बताए । ऐतिहासिक गढी दरबारमा हरेक वर्ष झैं ठुलो एकदशीमा जात्रा लाग्ने गरेको उनले बताए ।

व्रतालु र जात्रा अवलोकन गर्न आउनेलाई व्यवस्थित ढङगले पुजा गर्न सहज गराइएको अध्यक्ष पाख्रीनले बताए । पार्किङ देखि व्यवसाय गर्ने र विभिन्न खाले खेलको लागि निश्चित क्षेत्र छुट्याएर व्यवस्थित गरिएको उनले बताए । बंशगोपाल टोल विकास संस्थाको सहकार्यमा आउनजानको लागि सहज पुग्ने हेतुले स्वंम सेवक खटाइएको उनले बताए ।

जात्रामा केहि नराम्रो घटना नहोस भनि प्रहरी चौकी चौघडा, मक्रान्चुली र जीतपुरभञ्ज्याङका प्रहरी टोलीले सहज वातावरण बनाइरहेको अध्यक्ष पाख्रीनले बताए । दरवार परिसरमा मद्यपान र मासुजन्य किनबेच निषेश गरिएको छ ।

त्यस्तै भीमफेदी गाउँपालिका वडा २ मा रहेको त्रिखण्डेश्वर मन्दिरमा पनि भव्य मेला लागेको छ । विहान देखिनै भक्तजनहरुको भीड रहेको छ । मेला हेटौंडा काठमाडौं छोटोदुरीको सडक खण्डमा पर्ने भएकाले प्रहरीको टोली खटाएर सुरक्षा व्यवस्था बडा परिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना प्रभावित क्षेत्र र साना गाडी धेरै हिड्ने भएकाले क्षमता भन्दा बढी यात्रु बोक्ने यातायातको साधन चेकजाँच गरि सुरक्षा कडा गरिएको जनाइएको छ ।

हरिबोधिनी एकादशीको महत्व

अरू एकादशीहरूको भन्दा हरिबोधिनी एकादशीको महत्व बढी भएको धर्मशास्त्रमा उल्लेख गरिएको छ । एकादशी महात्म्यमा वर्णन गरिएअनुसार आषाढ शुक्लपक्षको एकादशीदेखि चतुर्मास्यव्रत प्रारम्भ गरिन्छ भने कार्तिक शुक्ल पक्षको एकादशी व्रत सम्पन्न भएपछि विधिपूर्वक पारण गरी उक्त व्रत समापन गरिन्छ । सबै एकादशीभन्दा हरिबोधिनी एकादशी ठूलो भएकाले यो एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिएको पाइन्छ ।

सबै पाप एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन् । व्रत बस्दा मुख्यरुपले शारीरिक अवस्था विचार गर्नुपर्दछ । एकादशी व्रतले मन, वचन र कर्मको एकाकार गरी आफ्नो कर्तव्य सबल भएर अगाडि बढ्न सिकाउने हुँदा एकादशीको व्रत लिनुपर्ने धर्माचार्यहरूको भनाइ रहेको पाइन्छ ।

हरिबोधिनी एकादशी, भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*