मकवानपुरमा गरियो चाडपर्व लक्षित १४ अनुगमन

२२ कार्तिक २०७६, शुक्रबार १४:५३

सिधाखबर \ साधन स्रोत अभाव भएता पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले चाड पर्व लक्षित १४ वटा बजार अनुगमन गरेको छ । मकवानपुरका हेटौडा, मनहरी, लोथर,थाहा नगरपालिका लगाएतका विभिन्न स्थानमा गरिएको अनुगमनको क्रममा भारी मात्रामा अखाद्य वस्तु जफत गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।

विभिन्न मितिमा कार्यालय नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, साना तथा घरेलु उद्योग कार्यालय, उपभोक्तावादी संघ संस्था, पत्रकार लगायतको संयुक्त टोलिले हेटौडा बजार लगायत विभिन्न स्थानका माछामासु पसल, किराना, बेकरी, खाजा घर, मिठाई पसल, होटल, ठेला अनुगमन गरेको प्रमुख रिजालले बताए । हेटौडा देखी लोथर सम्मका पूर्वपश्चिम राजमार्गमा रहेका विभिन्न १६ वटा लाइन होटल अनुगमन समेत गरेको उनले बताए ।

सोही क्रममा थाहा नगरपालिकाको थानाबजार आसपास क्षेत्र, शिखरकोट र डाडाँबासका विभिन्न दर्जनौ पसल अनुगमन गरिएको खाद्य निरिक्षक खगेन्द्र खतिवडाले बताए । संयुक्त अनुगमन टोलीले हेटौडा ५ सानोपोखरामा रहेको आर बि स्टोर्स बाट म्याद नाघेका पेय पदार्थ, कुल्फी जफत गरेको छ भने शिशिर किराना एण्ड कोल्ड स्टोर्स बाट म्याद नाघेका खाद्य पदार्थ प्रयोग गर्नै नसकिने फलफुल तथा तरकारी ठुलो परिणाम मा भेटिएको हुनाले तिन दिन भित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उपस्थितिको लागि पत्र काटिएको छ ।

अनुगमनकै क्रममा पुष्पलाल चोकमा रहेको तिरूपती मार्ट, स्कुलरोडको हीरालालको किराना तथा घर संसारबाट म्याद नाघेका खाद्य पदार्थ जफत गर्दै बिना इजाजत खाद्य पदार्थ प्याकिङग गरेको पाइएकोले सचेत गराइएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु, लेवल तथा मिति नभएका खाद्य सामग्री तथा पेय पदार्थ जफत गर्दै पुन भेटिए प्रचलित कानून अनुसार कारवाही गर्ने पसलका संचालकलाई जानकारी गराउदै सचेत गराइएको प्रमुख रिजालले बताए ।

अनुगमनलाई उपभोक्ता,उपभोक्तावादी लगाएतले फितलो तथा कर्मकाण्डी भएको आरोपमा प्रमुख रिजालले आफ्नो साधन स्रोत र आफुहरूले पाएको अधिकारले भ्याए सम्म कारवाही गरिएको बताए । देश संघियतामा गइ सकेको हुनाले स्थानीय सरकारलाई अनुगमन अधिकार दिएको हुनाले यस कार्यमा स्थानीय सरकार नै सशक्त भएर लाग्नु पर्ने उनले बताए । आगामी दिनमा अनुगमनको समिक्षा गर्दै अगाडी बढिने उनको भनाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*