कलाकार भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

३० मंसिर २०७६, सोमबार १२:४७

काठमाडौं \ चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।

भट्टराईको पार्थिव शरीरलाई सोमबार दिउँसो श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिने र अपरान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी भइरहेको सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

आइतबार राति ओम अस्पताल ल्याउँदा ल्याउँदै अध्यक्ष भट्टराईको निधन भएको थियो । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पतालतर्फ लगिँदै थियो, बाटैमा उनको निधन भयो । करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराईका  एक पत्नी र छोरा रहेका छन्।

निर्माता तथा कलाकार समेत रहेका भट्टराईले चलचित्र क्षेत्रमा उदाहरणीय योगदान गरेकाले उनलाई राष्ट्रिय सम्मान दिन लागिएको बास्कोटाले  बताए ।

स्वर्गीय भट्टराईलाई राष्ट्रिय सम्मान दिइयोस् भन्ने बोर्डको प्रस्ताव मन्त्रालयबाट स्वीकृत भइसकेको छ । सो प्रस्तावलाई अपरान्ह बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुनेछ । तर, त्यसअघि नै प्रधानमन्त्री र मुख्यसचिवसँग सल्लाह गरेर भट्टराईलाई राष्ट्रिय सम्मान दिइने सरकारको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*