हेटौंडामा हेटौंडा बाल कला साहित्य महोत्सव हुने

महोत्सवमा मह जोडी उपस्थिती रहने
२ पुष २०७६, बुधबार १८:२०

सिधाखबर \ आगामी पुस २५ र २६ गते हेटौंडामा हेटौंडा बाल कला साहित्य महोत्सव २०७६ हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आयोजक नवोदय शिशु सदन विद्यालयले कार्यक्रमबारे जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका कार्यक्रम संयोजक सीएम रिमालले सिर्जनात्मक पठन संस्कृति र कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाको विकास गराउन महोत्सवको आयोजना गर्न लागेको बताए ।

गएको वर्ष बाट सुरुवात गरेको साहित्य महोत्सव आगामी दिनहरुमा समेत निरन्तरता दिदैं जाने संयोजक रिमालले बताए । छ हजार विभिन्न व्यक्तीहरुको सहभागितामा सम्पन्न गराउने तयारीमा रहेको यस महोत्सवमा शिक्षक, कलाकार तथा साहित्यकारबाट बलासाहित्यका विभिन्न विधामा कार्यशालाहरु सञ्चालन हुने र उक्त कार्यशालाबाट शिक्षक, विद्यार्थी, अभिभावकमा सिर्जनात्मक शिक्षा प्रदान हुने संयोजक रिमालले बताए ।

कार्यक्रममा नेपाली हास्यँव्यङ्ग्य क्षेत्रका मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य, युवा लेखक मदन पुरस्कार विजेता राधा पौडेल, अमर न्यौपाने लगायत अन्य साहित्यकारहरुको उपस्थिती रहने विद्यालयका निर्देशक दीपेश जोशीले बताए ।

कार्यक्रममा कथा लेखन र वाचन, कविता तथा मुक्तक,गजल लेखन। कला प्रदर्शनी,ब्लगिङ, भित्ते चित्रकला लेखन, कलाकार तथा लेखक कार्यशाला, नाटक मञ्चन र कार्यशाला, पुस्तकमा आधारित रहेका क्रियाकलापहरु, पुस्तक प्रदर्शनी, फेस पेन्टिङ, पुतली प्रदर्शनी, शिक्षक र अभिभावकहरुबीचमा पढाई र बाल साहित्य सम्बन्धी अन्तरक्रिया, संगीतका साथै खानाका स्टलहरु प्नि रहने निर्देशक जोशीले बताए । कार्यक्रमका दिन कविता संग्रह फक्रँदो इन्द्रेणीको विमोचन गरिने जोशीले बताए । कार्यक्रममा करिब ५ लाख खर्च हुने अनुमान रहेको विद्यालय स्रोतले जनाएको छ ।

महोत्सवमा मकवानपुरको पूर्वी क्षेत्र फापरबारी, पश्चिम क्षेत्र मनहरी र उत्तरी क्षेत्र थाहानगरबाट पनि विद्यालय र विद्यार्थीहरुले सहभागिता जनाउने संयोजक रिमालले बताए । पत्रकार सम्मेलनमा कलाविज्ञ कैलाश श्रेष्ठ, विद्यालयका शिक्षक तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*