‘हल्ला र अफवाहबाट भ्रमित नहुनुस्’ : प्रधानमन्त्री ओली

कोभिड -१९ आपतकालीन कोषका लागि सरकारले १० करोड रुपैयाँ सहयोग गर्ने
७ चैत्र २०७६, शुक्रबार १८:३४

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे हल्ला र अफवाहबाट भ्रमित नहुन आग्रह गरेका छन् । देशवासीका नाममा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले धीरता अपनाउन आग्रह गरेका छन् ।

कोरोनाको संक्रमणबाट बच्न केही समयका लागि आफ्नो व्यवहार बदल्नुपर्ने उनले बताए । भीडभाडमा नजान र कोरोनाबारे सतर्कता अपनाउन सरकारले यसअघि नै आग्रह गरिसकेको छ । विद्यालय र विश्वविद्यालयको परीक्षा स्थगन गरिएको, भिडभाड हुने सिनेमा घरलगायतका स्थान बन्द गर्न आग्रह गरिएको पनि उनले जानकारी दिए ।

कोरोनाले ल्याएको समस्या समाधानजमा देश एक भावमा उभिएको भन्दै उनले राष्ट्रिय भावना प्रकट गर्न पनि सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीको आपुर्तिमा कमी नहुने पनि बताए । कालोबजारीमा संलग्न पाइएमा प्रचलित कानुनअनुसार कडा कारवाही गरिने पनि बताए ।

सार्क राष्ट्रहरु मिलेर बनाइने कोभिड -१९ आपतकालीन कोषका लागि नेपाल सरकारले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आपतकालीन कोष स्थापना गर्ने प्रस्तावको यसअघि नै स्वागत गरिसकेको जनाउँदै १० करोड नेपालको योगदान रहने बताएका हुन् । भारत सरकारले उक्त कोषका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*