व्यवसाय बन्द गर्न छलफल, भोलीदेखि सबै पसल बन्द रहने

१० चैत्र २०७६, सोमबार १९:२२

सिधाखबर \ कोरोना संक्रमणको जोखिमको कारण अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय बन्द गर्ने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा सोमबार बसेको बैठकले बन्द गर्ने निर्णय गरेको हो । मउवासंघका उपाध्यक्ष तथा बस्तुगत समन्वय समितिका संयोजक रामप्रसाद न्यौपानेको अध्यक्षतामा विभिन्न बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसेको थियो ।

छलफलको क्रममा बोल्नुहुदै संयोजक न्यौपानेले जिल्ला प्रशासन कार्यालयको आग्रहलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्था सहज बनाउन अघिल्ला बैठकहरुमा भएका निर्णयहरु र अहिले सुरक्षाकै लागि अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न आग्रह गर्नुभएको थियो । उहांले कोरोना भाइरसको त्रासले उद्योग व्यवसाय अत्यन्तै प्रभावित बनेको बताउनुहुंदै उद्योग र अत्यावश्यक सामान तथा सेवाको व्यवसाय सुरक्षा सावधानी अपनाई यथावत सञ्चालित राख्न आग्रह गर्नुभयो ।

सामाजिक उत्तरदायित्वको हिसावले अहिले अत्यावश्यक देखिएका व्यवसायहरु खुल्ला राख्नुपर्ने, कसैलाई बन्दगर्न जबरजस्ती नगर्ने तर सुरक्षा सावधानी अपनाउन सजग गराउने, पेट्रोलपम्प जस्ता ठाउँबाट पनि यो रोग सर्नसक्ने भएकोले सजगता अपनाउनु पर्ने, कोरोना भाइरस संक्रमणको अफवाह फैलिएकोले त्रास बढाएको, हात धुने ठाउँहरु थप्नुपर्ने, यस्तो अवस्थामा व्यवसायीहरुले फाइदा भन्दा सर्वसाधारणको हितमा निर्णय लिनु जरुरी रहेको, अहिलेको सन्दर्भमा आफैले सतर्कता अपनाउनुको अर्को विकल्प नभएको, धातुमा यो भाइरस लामो समय बांच्ने भएकोले धातुसंग सम्बन्धित उद्योग/व्यवसाय संचालन गर्न नुहेन जस्ता चर्चाहरु बैठकमा गरिएको थियो ।

Mcci Hetauda को फोटो।

बैठकले मकवानपुर जिल्ला भित्र अत्यावश्यक बाहेकका अटोमोवाइल, कपडा, फर्निचर, निर्माण सामाग्री, स्टेशनरी, हस्तकला, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सुनचांदी, कम्प्युटर एसेसरिज, मोबाइल,भांडाँ, ग्रिल, घरजग्गा तथा जुत्ताचप्पल जस्ता व्यवसायहरु केही समयका लागि बन्द गर्न आग्रह गरेको छ ।

बैठकमा संघका कार्यसमित सदस्य सुनिल अधिकारीले आफ्नो भनाई राखेका थिए भने समापनको क्रममा बोल्नु हुंदै संघका कार्यसमिति सदस्य राजु अधिकारीले कोरोनाको त्रासले कुखुरा तथा अण्डा व्यवसाय धरापमा परेको बताउनु हुंदै उत्पादन लागत भन्दा सस्तोमा बिक्री गर्नुपरिरहेको र अझै त्रासपूर्ण समाचारले झन् अप्ठेरो स्थिति बनाएको बताए । उद्योगी व्यवसायी, सहयोगको क्रममा हिड्दै गर्दा आफैलाई जोखिम धेरै रहेको बताउंदै उनले सधै बैठक बस्न सम्भव नभएको अवस्थामा फोनमार्फत पनि सम्पर्कमा जुट्न आग्रह गरे ।

छलफलमा निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष कृष्णराम न्यौपाने, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष तेजराज अधिकारी, मकवानपुर सुनचांदी व्यवसायी संघका अध्यक्ष केशव रसाइली, जुत्ता तथा चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, भाँंडा व्यवसायी संघका अध्यक्ष हेमराज बानियाँ, ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष कुमार पौडेल, फर्निचर व्यवसायी संघका अध्यक्ष गोकुल श्रेष्ठ, पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष बासु न्यौपाने, विद्युतीय व्यवसायी संघका अध्यक्ष शिव कुमार कार्की, कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष नारायण सिं थिङ, अटोमोवाइल एसोसिएसनका अध्यक्ष सागर सापकोटा, मकवानपुर हस्तकला संघका निवर्तमान अध्यक्ष ज्ञानभक्त लामा, कम्प्युटर एशोसिएसनका उपाध्यक्ष शिव कुमार श्रेष्ठलगायत वस्तुगत संघका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*