वसुन्धराश्रीबाट डा. ध्रुवचन्द्र गौतम र मानश्रीबाट सरुभक्त पुरस्कृत हुने

७ बैशाख २०७७, आईतवार ०९:२८

काठमाडौं \ यस वर्षकाे वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई र मानश्री पुरस्कार चर्चित साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएकाे छ ।

वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शनिबार बसेको बैंठकले उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकहरुको सिर्जनाद्धारा नेपाली साहित्यलाई  सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई वि.सं.२०७७ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सदस्य-सचिव कृसु क्षेत्रीले जानकारी दिनुभयाे । पुरस्कारको साथमा नगद ७५ हजार रुपिंयासहित सम्मानपत्र अर्पण हुनेछ ।

त्यसै गरी प्रज्ञाप्रतिष्ठानको उक्त विशेष बैठकले  आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्धारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने चर्चित साहित्यकार सरुभक्तलाई वि.सं. २०७७ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको साथमा नगद ५० हजार रुपियासहित सम्मानपत्र अर्पण हुने छ।

वि.सं. २००१ पुस २ गते वीरगञ्जमा जन्मनु भएका विशिष्ट साहित्यकार डा. ध्रुवचन्द्र गौतमका अन्त्यपछि, बालुवामाथि, डापी, कट्टेलसरको चोटपटक, अलिखित, निमित्त नायक, एक शहरमा एक कोठा, स्व. हीरादेवीको खोज, दुबिधा, अग्निदत्त+अग्निदत्त, फूलको आतङ्क, तथाकथित,बाढी, उपसंहार अर्थात् चौंथो अन्त्य, मौन, भीमसेन-४ को खोजी र घुर्मी (उपन्यास), आकाश विभाजित छ, देहमुक्त, अवतार विघटन र ज्यागा (संयुक्त उपन्यास), अँध्यारो द्वीपमा, संरक्षक, कथादृष्टि, गौतमका एकाउन्न कथा, गौतमका प्रतिनिधि कथा, जेलिएको र साठी वर्षमा हृदयाघात (कथासंग्रह) र त्यो एउटा कुरा, भष्मासुरको नलिहाड र श्री कृष्णलीला (नाटक) कृतिहरु प्रकाशित भएका छन् ।

वि.सं. २०१२ मंसिर १२ गते पोखरामा जन्मनु भएका चर्चित साहित्यकार श्री सरुभक्तका बन्द खामभित्र र हजार बुद्धहरु (मुक्तकसंग्रह) ,बोक्सीको आह्वान र घोषणापत्र, कवि, प्रेमी र पागल, प्रयोगशालाभित्र र इथर समय (कवितासंग्रह), मनभरि माटोभरि (गीतसंग्रह), ज्यानमारा, कापुरुष, कुरुप मसिहा र झुमा (खण्डकाव्य), एक अभिनवको आत्मकथा, छोरी ब्रह्मण्ड, र यामागल (कथासंग्रह), युद्ध:  उही ग्यासच्याम्वरभित्र, इतिहासभित्रको इतिहास, शिशिरका अन्तिम दिनहरु, ईथर, एसोधम्मो सनन्तनो, गाउँघरका नाटकहरु, गाउँको कथा यस्तै हुन्छ है, बालबालिकाहरुको नाटक, निमावीय, असमय अमौसम, जस्तो दन्त्यकथा, सिरुमा रानी (नाटकसंग्रह) र पागल बस्ती, समयत्राशदी, तरुनी खेती, चुली, अँध्यारो कोठा र प्रतिगन्ध (उपन्यास) प्रकाशित भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*