कोरोना भाइरस र यसले नेपाली चलचित्रमा पारेको प्रभाव

१९ असार २०७७, शुक्रबार १७:०४

चीनको वुहान प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई त्रसित मात्र होइन धेरैको ज्यान समेत लिइसकेको छ । मै हुँ भन्ने ठूल्ठूला राष्ट्र पनि यो भाइरसका अगाडी झुकिसकेका छन्, । नेपाल जस्तो सानो देशमा त झन यसले प्रभाव नपार्ने कुरै भएन । नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनको घोषणा ग¥यो ।

लकडाउनपछि व्यापार व्यवसायहरु ठप्प रहे । सभा, सम्मेलन तथा भिडभाडका कार्यक्रमहरु गर्न निषेध गरियो । सरकारद्वारा लकडाउन घोषणा गरिएपछि सधैँ भिडभाड बन्ने सिनेमा घरहरु ठप्प रहे अझ भनौँ सुनसान भए । गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनले बन्द भएका सिनेमा घरहरुको ताला कहिले खुल्ने भन्ने अन्यौल छ । यो हिसाबले नेपाली चलचित्र क्षेत्रको भविष्य यसै भन्न सकिने अवस्था छैन ।

हलहरुमा माकुराको जालो लागिसकेको छ । सिनेमा घरका कम्प्यूटरहरु धुलाम्य भैसकेका छन्, । लकडाउन जेष्ठ अन्तिमसम्म भनिए पनि मोडालिटी परिवर्तन गरेको अबस्थामा अझै सिनेमा घरका लागि लकडाउन जारी नै छ । प्रदर्शनको तयारीमा रहेका लगभग दुई दर्जन चलचित्रहरु पोष्टपोन्ड’ भएर बसेका छन् भने थप दुई दर्जन चलचित्रहरु पोष्ट प्रोडक्सनमा थन्किएका छन् ।

चलचित्र प्रर्दशन नभएपछि यसले सिनेमा घरमा काम गर्ने सामान्य कर्मचारीदेखि चलचित्र प्राविधिकहरु तथा यसमा आश्रितहरुको चुलो बल्न समस्या भैरहेको छ ।


 


भूकम्पले चलचित्र उद्योगलाई २ वर्ष पछाडी धकेलिएको अवस्था सेलाउन नपाउँदै कोरोना भाइरस (कोभिड १९) का कारणले चलचित्र उद्योगलाई करिब १० वर्ष पछाडि धकेलेको चलचित्रकर्मीहरुको गुनासो छ । यो अवस्थामा हामी सबैमाझ चुनौती खडा भएको छ ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार कोरोना भाइरसका कारण करिब ३२ हजार चलचित्रकर्मी बेरोजगार भएको र यसमा आश्रित ३ लाख जनसंख्या मारमा परेका छन्, । उहाँका अनुसार यो क्षेत्रमा १ अर्ब १० करोडको लगानी फ्रिज भएको तथ्यांक छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने कोभिड १९ को संक्रमण झनै बढिरहेको छ । यसले गर्दा तत्काल सिनेमा घरहरु सञ्चाल नहुने र चलचित्र निर्माण छायांकन हुने अवस्था देखिँदैन । कुनै मोडालिटी ल्याएर सिनेमा हलहरुलाई सरकारले सञ्चालनमा ल्याउन खोजेपनि तत्काल चलयमान हुन सक्ने अवस्था पनि देखिँदैन । हलमा दर्शकहरु आइहाल्छन भन्ने अवस्था पनि छैन । कसले र कुन चलचित्रले पहिला आँट गर्ने भन्ने विषयमा पर्ख र हेरको बहसमा समय बित्ने पक्का छ ।

कोरोनो भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव उल्लेख गरिसाध्य छैन । घरखेत बैंकमा धितो राखेर सिनेमा बनाउने निर्माताहरु रुनु न हाँस्नुको अवस्थामा रहेका छन्, । अझ कत्तिले त चर्को व्याजमा ऋण लिएर पनि लगानी गरिरहेका छन्, । यो क्षेत्रमा प्रायः अन्य आम्दानीका स्रोत भएका व्यक्तिहरु छैन्न, त्यसैले बैंक व्याज तिर्न सक्ने अवस्था नरहेपछि मानसिक तनाव नहोला भन्न सकिन्न । यसले गर्दा पारिवारिक समस्या हुने त भै गयो त्यसैले अब राज्यस्तरबाट चलचित्र क्षेत्रलाई राहतको प्याकेज घोषण गर्नु जरुरी छ ।

निर्माता संघका अध्यक्ष अधिकारीका अनुसार अब राज्यले प्रचारप्रसार देखि लगानीको २० प्रतिशत रकम संरक्षणको नीति ल्याउनुपर्ने माग गरेका छन्, । सामाजिक दुरी कायम गरेर हल सञ्चालन गरेपनि ३३ प्रतिशत भन्दा लगानी नउठ्ने उहाँकोे दावी रहेको छ । बैंक ब्याजको छुटदेखि कर मिनाहा नगरे थला परेका सिनेमा उद्योग उठ्नै नसक्ने गरी थप थला नपर्ला भन्न सकिन्न ।


 


चलचित्र क्षेत्रको अभिभावक संस्था चलचित्र विकाश बोर्डमा भर्खरै मात्र नयाँ अध्यक्ष नियुक्त हुनुभएको छ । अध्यक्ष नियुक्त भएपछि यो विषम् अवस्थामा चलचित्रकर्मीहरुले लामो सास फेर्न थालेका छन्, । अब केही राहत पाइएला भनेर चलचित्रकर्मीहरु बसिरहेका छन्, । चलचित्र विकाश बोर्डका सदस्य नरेन्द्र महर्जनका अनुसार विकाश बोर्डले कोरोना भाइरसबाट चलचित्र क्षेत्रमा पारेको समस्याका बारेमा अध्ययन र छलफल भैरहेको बताउनुभयो । चलचित्र व्यवसाय भनेको सम्वेदनशील रहेको बताउँदै मौसमले पारेको प्रभावदेखि भवितव्य आउने प्रभावले पनि थप संकटमा ल्याएको उहाँ बताउनुहुन्छ ।

स–सानो समस्याले समेत प्रभाव परिरहने यो क्षेत्रमा कोरोना भाइरसले बनाएको प्रभाव झनै गहिरो चोट भएको भन्दै यसबाट परेको समस्याको समाधानमा प्रतिवेदन तयार भैरहेको उहाँले बताउनुभएको छ । कोरोना भाइरसका कारण सुनसान बनेको चलचित्र क्षेत्रलाई कसरी माथि उठउन सकिन्छ भन्ने बहसबाट अगाडी बढ्नु आवश्यक छ ।

यस्तो भयो र उस्तो भयो अब सकियो बर्बाद भयो भनेर बस्नुभन्दा नीतिगत कुराहरु बहसका रुपमा चलाउन सकेमा मात्र यो क्षेत्रले केही निचोड निकाल्न सक्छ । होइन भने चिया चौतारामा र सामाजिक सञ्जालमा गफ हान्नु बाहेक केही हुन्न । डराएर मात्र हुन्न आँटेर पनि अगाडी बढनुपर्ने अवस्था छ । तर सरकारको निर्णयले कस्ता बाटो पहिल्याउने भन्ने प्रतिक्षामा छन् चलचित्रकर्मीहरु । गत २०७२ सालको भूकम्पले थला पारेर बिस्तारै उठ्दै गरेको चलचित्र क्षेत्रलाई कोरोनाले नराम्रोसंग सुताइदिएको छ ।


 


भूकम्पको भन्दा ठूलो क्षति कोरोनाका कारण चलचित्र क्षेत्रले भोगेको छ । यसैले अब चलचित्र क्षेत्रलाई उकास्न सबैले आ–आफ्नो तर्फबाट सोच्नु र अगाडी बढ्नु आवश्यक छ । अब हामीले हलमा दर्शकलाई आकर्षित कसरी गराउने, लगानीकर्तालाई प्रोत्साहन कसरी गर्ने भन्ने बिषयमा छलफल चलाएर अगाडी बढ्नु जरुरी छ । निर्माताहरुलाई चलचित्र बनाउन र चलाउन प्रोत्साहन गर्न वितरकले एमजी दिनुपर्ने बिषयदेखि विकल्पको रुपमा एमजी (मिनिमम ग्यारेन्टी)लाई अगाडि बढाउन सकेपनि यसले केही चलयामान बन्नसक्छ ।

यसका लागि विकास बोर्ड लगायतका निकायले वितरक तथा हल सञ्चालकहरुलाई निकै कम व्याजदरमा ऋण उपलब्ध गराउनु आवश्यक छ । सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले पनि दर्शकहरु हलसम्म पुग्न निकै समय लाग्छ । यसैले हल खुलिसकेपछि सिनेमाहललाई कसरी धान्ने भन्ने पनि चिन्ता छ । यस्तो अवस्थामा राज्यले मनोरञ्जन कर देखी लिएर बिजुलीबत्तिमा छुट दिनु जरुरी छ ।

यस्तो अबस्थामा सिनेमाहललाई टिकाउनु पनि ठुलो कुरा हुनेछ । सिनेमाहल निरन्तर संचालनमा आए चलचित्रको गतिविधि बढेको महशुस हुनेछ अनि चलचित्र क्षेत्र चलयमान बन्ने छ । आशा गरौ यो परिवेश चाडै आउने छ ।

(लेखक गौतम चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखा अध्यक्ष हुन्, । )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*