बिरामी बढ्दै गएमा फेरि लकडाउन गर्ने सरकारको तयारी

१७ श्रावण २०७७, शनिबार १६:५४

काठमाडौं \ कोभिड-१९ को संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ। पछिल्लो समय कोभिड-१९ का बिरामी बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए।

‘हालसम्म लकडाउनको तयारी छैन तर परिस्थिति भड्कियो भने जुनसुकै बेला हुनसक्छ,’स्वास्थ्य मन्त्री ढकालले भने,’पहिला हामीले खुकुलो गर्दा पनि पछि प्रतिकूल अवस्था भयो भने यो भन्दा कडा लकडाउनको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ भनेर भनेकै छौं।’ वीरगञ्ज लगायतका ठाउँहरूको घटनाले संवेदनशील बनाइरहेको समेत उनले बताए।

‘आवतजावत र क्वारेन्टिनको मामिलामा एउटा अनुशासन नअपनाउने हो भने अलि गाह्रो होला कि जस्तो भइरहेको छ,’उनले भने,’परिस्थिति यसरी नै बढ्दै गयो भने नियन्त्रणका लागि लकडाउन पनि एउटा उपाय हो तर त्यो मात्रै त भएन। अरु उपाय पनि अवलम्बन गर्छौं। सँगै यसलाई पनि अलि व्यवस्थित गर्नुपर्छ। अहिलसम्म ठीकै छ।’

उनले वीरगंजमा अलि परिस्थिति भड्केला कि जस्तो भएको र पोजेटिभहरूको संख्या पनि धेरै भएकाले अस्पतालको खोजी भइरहेको समेत बताए। उनले चिकित्सकहरूको एउटा टोली पठाएको र त्यहाँको परिस्थितिबारे छलफल भइरहेको जनाए ।

शुक्रबारमात्रै १० हजार ७ सय ८६ को पिसिआर परीक्षण गरिएको भन्दै मन्त्री ढकालले सरकारले अन्य तयारी पनि गरिरहेको दाबी गरे। उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्टले परिस्थिति अनुसार ठाउँ विशेषमा सिल गर्न सकिने बताए।-सेतोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*