३० भाद्र २०७७, मंगलवार १६:०३
September 25, 2020

हेटौंडाका निर्देशकको चलचित्र बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

३० भाद्र २०७७, मंगलवार १६:०३

काठमाडौं  \  हेटौंडाका सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । चलचित्र बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’ मा छानिएको हो ।

कुनै पनि निर्देशकको पहिलो र दोस्रो चलचित्र मात्र छनोट हुने प्रावधान रहेको ‘न्यु करेन्ट सेक्सन’ मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (३५ लाख रुपैयाँ) प्राप्त गर्नेछन्, । योसँगै ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली चलचित्र भएको छ । यसअघि नवीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ न्यु करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसिओके अवार्डमा छनोट भएको थियो । किम जेसिओके अवार्डमा पनि दुई फिल्मलाई नै पुरस्कृत गरिन्छ तर यसको रकम १० हजार अमेरिकी डलर मात्र रहेको छ । कान, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५औं संस्करण हो । कोभिड १९को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न हुने फेस्टिभल यो साल अक्टोबर २१ मा सुरु भएर ३० मा सकिनेछ ।

निर्देशक सुजित विडारी ।

लेखक/निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर चलचित्रतर्फ सुजितको डेब्यु हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु चलचित्र थियो ।

चलचित्रले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या)को सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जति पटक उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ । सुजितले बालिकाको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसग तुलना गरेर कथानक तयार गरेको बताए ।

‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो चलचित्रको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ’, सुजितले भने, ‘उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ । यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिबिम्ब देख्न सक्छौं ।’ विद्या र उनका ९ वर्षका भाइ (बसन्त) बीचको बालसुलभ सम्बन्ध पनि फिल्ममा मियोको रुपमा रहेको सुजितले बताए । ‘दिदीले आफ्नो सपनामा बिट मार्न लागेको देखेपछि उनलाई मद्दत गर्न भाइले गर्ने प्रयत्न फिल्मको महत्वपूर्ण हिस्सा हो । यो सम्बन्धमार्फत् चलचित्रले पितृसत्तात्मक सोचमा पनि बदलाव आउनु पर्ने आवश्यकतालाई इंगित गरेको छ,’ सुजितले भने ।


 

 

सवा करोड हाराहारीको बजेटमा बनेको चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक चलचित्रमा अधिकांश नयाँ कलाकारको अभिनय रहेको छ । आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त व्यानरमा बनेको चलचित्रलाई आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन्, । चलचित्रमा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्प संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

‘ऐना झ्यालको पुतली’ को निर्मातामध्येका एक रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको अर्को फिल्म ‘रिभर इन दि मिरर’ पनि बुसानकै एसियन प्रोजेक्ट मार्केटमा छानिएको छ । निर्माता पोखरेलले यो चलचित्र भुटानी निर्माता र निर्देशक टासी ग्याल्छेनसँगको सहकार्यमा निर्माण गर्न लागेका हुन्, । एसियन प्रोजेक्ट मार्केट एसियाका फिल्ममेकरका लागि प्रोड्युसिङ पार्टनर खोज्ने उत्कृष्ट प्लेटफर्म मानिने गरेको छ । स्रोतः इकान्तिपुर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*