बोलेरो दूर्घटनाका घाइतेलाई राक्सिराङ गाउँपालिकाले ५० हजार सहयोग गर्ने

गत शुक्रबार साँझ हेटौंडा १९ नेवारपानी नजिक भएको बोलेरो जीप दूर्घटनाको घाइतेको उपचार गर्न राक्सिराङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शनिबार बिहान चुरेहिल अस्पतालमा पुगेर उपचाररत घाइतेहरुको अवस्थाको बारेमा जानकारी लिँदै गाउँपालिकाले उपचारमा ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
नेवारपानीबाट राक्सिराङ गाउँपालिका–१ स्थित ठूलोभावरतर्फ गइरहेको ग १ ज ७२८९ जीप ब्रेक फेल भएर दूर्घटना हुँदा राक्सिराङ गाउँपालिका–१ का २२ जना घाइते भएका थिए । घाइतेमध्ये केही उपचार गराएर घर फर्किसकेका छन् भने १६ जनाको चुरेहिल अस्पताल र एकजनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये एकजनाको आइसियुमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर तथा प्रशासनका कर्मचारीसँग भेट गर्दै अध्यक्ष मल्लले घाइतेहरुको उपचारमा ध्यान दिन आग्रह गरे । उपचार खर्चमध्ये गाउँपालिकाले अस्पताललाई ५० हजार रुपैयाँ भुक्तानी दिने अध्यक्ष मल्लले प्रतिवद्धता जनाए । ‘राक्सिराङमा एकैचोटी यति धेरै संख्यामा घाइते हुनेगरी भएको दूर्घटनाप्रति निकै दुःख लागेको छ ।
गाउँबासीको अप्ठेरोमा गाउँपालिका साथै रहेको छ । उपचार खर्चमध्ये ५० हजार रुपैयाँ हामी बेहोर्छौं ।’ अध्यक्ष मल्लले भने । मल्लसँगै राक्सिराङ गाउँपालिका–१ का वडाध्यक्ष कान्छाराम रुम्बा, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण प्रजालगायत घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका थिए । उनीहरुले घाइते र आफन्तलाई सान्त्वना दिँदै उपचारमा आफूहरुको पनि साथ रहने प्रतिवद्धता जनाएका थिए ।