• २०७७ फाल्गुण १५, शनिबार
  • नेटवर्क नटिप्दा राक्सिराङबासी हैरान

    नयाँ टावर स्थापनाको तयारी भइरहेको: टेलिकम प्रमुख हंसराज विजयानन्द
    १२ माघ २०७७, सोमबार १४:१७

    सिधाखबर \ नेपाल टेलिकमको बेवास्ताका कारण मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाबासी नेपाल टेलिकमका सिम प्रयोगकर्ता मारमा परेका छन् । टेलिकमको टावरमा विद्युतको व्यवस्था नगरिदिँदा घाम नलागेको समयमा मोबाइल सेवा अवरुद्ध हुने गरेको छ ।
    टेलिकमको टावरमा राखिएको सोलार प्यानलबाट उत्पादित विद्युतले नधान्दा दैनिक १८ घण्टासम्म मोबाइल सेवा अवरुद्ध हुने गरेको छ । जाडो मौसममा वर्षौँदेखि गाउँबासीले यो समस्या भोग्दै आएता पनि टेलिकमले भने समस्या समाधानमा बेवास्ता गरिरहेको छ । मोबाइल सेवा अवरुद्ध हुँदा गाउँबासीका साथै गाउँपालिकाको काम कारबाहीमा समेत असर परेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

    राक्सिराङ गाउँपालिका–२ स्थित भाँटी र राक्सिराङ–८ स्थित टोड्केमा नेपाल टेलिकमको टावर रहेको छ । टावर स्थापनाको समयमा त्यस क्षेत्रमा विद्युत् नभएका कारण सोलारको प्रयोग गरिएको थियो । तर, अहिले दुवै ठाउँमा विद्युत् सेवा पुगेको छ । यद्यपी टावरमा विद्युत् जडान गरी सेवालाई बेवस्थित गर्नेबारे टेलिकमले ध्यान दिएको छैन ।

    विद्युतकै समस्याका कारण मोबाइल सेवा लामो समय अवरुद्ध हुने गरेको समस्या समाधान गर्न गाउँपालिका कार्यालय र गाउँबासीले पटकपटक टेलिकमको हेटौंडा कार्यालयले ध्यानाकर्षण गराएता पनि बेवास्ता गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताए । ‘घाम लागेको दिन दिउँसो एकैछिन मात्र मोबाइलमा टावर टिप्छ । अरु बेला टावर नै आउँदैन । फोन सम्पर्कबिहीन भएपछि गाउँबासीले मार खेपिरहेका छन् भने गाउँपालिकाको दैनिक काममा पनि ठूलो असर पुगेको छ ।’ अध्यक्ष मल्लले भने–‘टेलिकमको बेवास्ताका कारण गाउँको शान्ति सुरक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा पनि असर परिरहेको छ । समस्या समाधान गर्न धेरै पटक अनुरोध गर्दा पनि काम भएन । अझै बेवास्ता भइरहे सहँदैनौं । गाउँबासीले नै टेलिकमको सिम बहिष्कार गर्ने दिन नआओस् ।’

    नेपाल टेलिकम हेटौंडाका प्रमुख हंसराज विजयानन्दले भने राक्सिराङमा टेलिकमको नयाँ टावर स्थापनाको तयारी भइरहेको भन्दै चाँडै नै समस्याको समाधान हुने दावी गरे । ‘हामीले नयाँ टावर राख्नेबारे जग्गाको खोजी गरिरहेका छौं । जग्गा प्राप्त भएपछि नयाँ टावर स्थापना गर्छौं । वडा कार्यालयसँग यसबारे कुरा भइसकेको छ । नयाँ टावर स्थापनापछि जुनसुकै समयमा पनि मोबाइल सेवा उपलब्ध हुन्छ ।’ विजयानन्दले भने ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *