• २०७७ फाल्गुण २३, आइतबार
  • चितवनका ४ हजार एकसय जनालाई कोरोना खोप लगाइने

    १४ माघ २०७७, बुधबार ०८:१२

    सिधाखबर \ नेपालमा आजबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु हुने भएको छ । सातै प्रदेशमा पुगी सकेको खोप आजबाट लगाउने कार्यक्रम हुने जनाइएको छ । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे संगै प्रदेशमा पुगेको खोप लगाउने कार्यक्रम सुरुवात हुनेछ । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्यले खोप लगाउने छन् ।

    बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रदेशभर पहिलो चरणमा ६३ हजार खोप लगाइने जनाइएको छ । जसमध्ये चितवन जिल्लामा ४ हजार एक सय जनालाई खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए ।

    खोप लगाउनका लागि जिल्लाभर तीन वटा खोप केन्द्र तोकिएको छ । भरतपुरस्थित भरतपुर अस्पताल, पूर्वी चितवनको रत्ननगरस्थित रत्ननगर बकुलहर अस्पताल र माडीको बगौडा अस्पतालबाट खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । तीन वटै अस्पतालमा बिहान साँढे १० बजे एकै समयमा खोप लगाउन शुरु गरिने जनाइएको छ ।

    तीन वटै अस्पतालमा खोप लगाइसकेपछि हुन सक्ने सम्भावित अनपेक्षित घटना व्यवस्थापनका लागि समिति गठन गरिएको छ । भरतपुर अस्पतालका डा. युवानिधि बसौलाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । यस्तै रत्ननगर अस्पतालमा डा. रामचन्द्र श्रेष्ठ तथा माडीमा डा. रन्जु सिंहको संयोजकत्वमा समिति गठन गरिएको छ । तीन वटै खोप लगाउनका लागि आवश्यक तयारी पूरा भइसकेको छ ।

    पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयं सेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने बताइएको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *