गायिका ग्याल्मोलाई बिजुलीमाया वनः राष्ट्रिय सङ्गीत पुरस्कार

सिधाखबर \ भारत दार्जीलिङ निवासी वरिष्ठ गायिका दावा ग्याल्मोलाई १२ औं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट प्रदान गरीएको छ । हेटौँडाका सङ्गीतप्रेमी,समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट स्थापना गर्नुभएको उक्त पुरस्कार शनिबार हेटौंडामा संगीत साधक भीम विरागको ८६ औं जन्मजयन्तीको अवसरमा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान मकवानपुरको आयोजनामा एक साङ्गितिक कार्यक्रमका साथ गायिका ग्याल्मोलाई बरिष्ठ गीतकार विश्व बल्लभले एक लाख नगद राशी सहित पुरस्कार प्रदान गरीएको थियो ।
शहर भित्र के को हल्ला, फूलको डाली–डाली, किन किन उदास, आँखा भित्र जस्ता चर्चित गीतहरु गायिका ग्याल्मोका रहेका छन् । दार्जीलिङमा सन् १९५४ डिसेम्बरमा जन्मिएकी ग्याल्मो विद्यायल क्याम्पसमा गीत आउँदै साङगीतिक यात्रा अगाडी बढाएकी थिइन् । उनी सन् १९७० मा कक्षा १० मा पढ्दै गर्दा नेपालका तत्कालिन राजा महेन्द्रको जन्म दिवसमा दार्जीलिङबाट छनौटमा परि पहिलो पटक नेपालमा आएर आफ्नो प्रस्तुती दिएकी थिइन् ।
उनले कर्म योञ्जन, गोपाल योञ्जन, अम्बर गुरुङ, बसन्त क्षेत्री, बद्रीदुर्गा खरेल, मणिकलाल क्षेत्री, दिव्य खालिङ, शान्ति ठटाल, जितेन वर्देवा, राष्ट्रकवि माधव प्रसाद घिमिरे लगायतका संगीतसष्ट्राहरु संग काम गरिसकेकी छिन् ।
सोही अवसरमा भीम विराग युवा सङ्गीत पुरस्कार २०७७ बाट पोखराका हर्मोनी पोखरालाई प्रदान गरिएको छ । २० हजार राशी सहित महिलाहरुको सक्रियतामा सञ्चालित हर्मोनी पोखरालाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाली सुगम संगीत तथा महिला गायनको संरक्षण, सम्बद्र्धन र प्रशिक्षण संगै प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको हर्मोनी पोखरा एसियाकै पहिलो महिलाहरुद्धारा सञ्चालित संगीत संस्थाको रुपमा रहेको छ ।
कार्यक्रम भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष ह्याग्रीव आचार्यको सभाध्यक्षता तथा बरिष्ठ गीतकार विश्व बल्लभको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा कला सहित्य र संगीत क्षेत्रका व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।
२०६४ सालमा स्थापना भएको प्रतिष्ठानले यसअघि अम्बर गुरुङ–२०६४, प्रेमध्वज प्रधान–२०६५, भक्तराज आचार्य–२०६६,फत्तेमान राजभण्डारी–२०६७, शान्ति ठटाल–२०६८, प्रकाश श्रेष्ठ–२०६९, दीप श्रेष्ठ–२०७०, न्हुच्छे बहादुर डंगोल २०७१ (नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र),मीरा राणा–२०७२, कर्म योञ्जन–२०७३ र चेतन कार्की–२०७४ लाई प्रदान गरीसकेको छ ।