• २०७८ जेठ ०२, आइतबार
  • हेटौंडामा अन्तर शहर चेस प्रतियोगिता सुरु

    ११ चैत्र २०७७, बुधबार १७:००

    सिधाखबर \ बागमती प्रदेश राजधानी हेटौंडामा हेटौंडा राष्ट्रव्यापी अन्तर शहर बुद्धिचाल प्रतियोगिता २०७७ बुधबारबाट सुरु भएको छ । मकवानपुर बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा प्रतियोगिता गरिएको हो ।

    स्विस लिग प्रणाली अनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ शहरले सहभागिता जनाएको आयोजक संस्था मकवानपुर बुद्धिचाल संघका सचिव नरेन्द्र भण्डारीले बताएका छन् । प्रत्येक टोलीमा ४ जना नियमित खेलाडी तथा १ जना वैकल्पिक खेलाडी र एक जना व्यवस्थापक गरी ६ जनाको सहभागि रहने भण्डारीले बताए । सहभागि टोलीले अनिवार्य रुपमा महिला खेलाडी वा १६ वर्ष भन्दा मुनि उमेरसमूहको खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको सचिव भण्डारीले बताए ।

    बुधबार एक कार्यक्रमका साथ प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतियोगिताको उद्घाटन गरेका छन् । हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत र मुख्यमन्त्री पौडेलले चेसको चाल चालेर प्रतियोगिताको सुरुवात गरेका थिए । प्रतियोगिता १४ गते शनिवार समापन हुने आयोजकले जनाएको छ ।

    प्रतियोगिताका विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५० हजार, तेस्रो स्थान हुनेले ५० हजार तथा चौथो र पाचौँ स्थान हासिल गर्नेले क्रमशः ३० हजार, २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । मकवानपुरका चेस खेलाडी तथा नेपाल बुद्धिचाल संघ केन्द्रीय सचिव धर्म लामाले प्रतियोगितामा महिलालाई तथा १६ वर्ष मूनिको खेलाडीलाई समावेश गराई प्रतियोगितामा फरकपन दिने बताए ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *