यशकुमारको २० वर्षअघिको ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरूपमा

३ श्रावण २०७८, आईतवार ०८:०९

काठमाडौं \ गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्षअघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरूपमा श्रोता तथा दर्शकमाझ आएको छ । नयाँ स्वरूपको गीतमा यशलाई गायिका मिलन नेवारले स्वरमा साथ दिनुभएको छ । गीतमा यशकै शब्द र संगीत छ ।

गीतमा देवेश राईको एरेञ्ज, साजन शाहको मिक्सिङ छ । गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकीको अभिनय छ । गायक यशले गीतले सबैको आआफ्नो भोगाइलाई छुने दाबी गर्नुभयो ।

अभिनेता सागरले आफूले सानो उमेरदेखि सुन्दै आएको गीतलाई भिडियो बनाउन गरेको प्रस्ताव स्वीकार गरेकोमा यशप्रति आभार व्यक्त गर्नुभयो । अभिनेत्रीद्वय प्रिन्सी र प्रिज्माले बच्चादेखि सुन्दै आएको गीतमा अभिनय गर्न पाउनु सपना पनि नसोचेको फल पाएको बताउनुभयो । निर्देशक निकेश खड्काले आफूले कलेज पढ्दाताका धेरै सुनेको यो गीतलाई आफैंले एक्सन–कट गर्न पाउनु चुनौतीसँगै अवसर भएको दाबी गर्नुभयो ।

भिडियोमा बुद्ध थापा र उहाँको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ । भिडियोका निर्माताहरू भीमादेवी क्षेत्री र सचित लम्साल केसी हुनुहुन्छ । भिडियो बले इन्टरटेनेमन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*