महाकवि देवकोटाको सालिक तोडफोड

१५ भाद्र २०७८, मंगलवार ०७:४४

झापा \ झापाको भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए । सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार बिहान भेटिएको उनले जानकारी दिए ।

भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो ।

सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको र दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गरिदिन प्रहरीमा अनुरोध गरिएको बरालले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले तोडफोड गर्नेहरूको खोजतलास भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*