बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि गठबन्धनको गृहकार्य सुरु

२९ भाद्र २०७८, मंगलवार १६:४०

हेटौंडा \  बागमती सरकार परिवर्तनको लागि विपक्षी गठबन्धनले गृहकार्य सुरु गरेको छ । बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत पार्टीले प्रवेश पाएसँगै केन्द्रीय तहमा बनेको गठबन्धनले प्रदेशमा पनि सरकार परिवर्तनका लागि रणनीति बनाउन सुरु गरेको हो ।

नेकपा एमालेको विभाजनपछि १३ जना सांसदले एमाले पार्टी त्यागेर नेकपा एकीकृत समाजवादीमा गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएपछि गठबन्धनले सरकार परिवर्तनको गतिविधि सुरु गरेको हो । भदौ २ मा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको बैठक बोलाएर राजीनामा दिँदै एमाले उपाध्यक्षसमेत रहनुभएकी अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएको थियो । पौडेलको प्रस्तावमा तत्कालीन एमालेका सबै ५६ सांसदको समर्थनमा शाक्य मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री नियुक्त हुँदाका बखत शाक्यलाई ५६ सांसदको समर्थन थियो । ११० प्रदेशसभा सदस्य रहेको सो प्रदेशमा एमालेको एकल बहुमत थियो । तर, अहिले एमालेका १३ सांसदले नेकपा (एस)को पक्षमा सनाखत गरेपछि शाक्य अल्पमतमा पर्नुभएको हो ।

अब गठबन्धनको सरकार निर्माणका लागि कसरत अघि बढ्ने र एक साताभित्रै नयाँ सरकार गठन हुने दाबी गरिएको छ । नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डेले अल्पमतको सरकारले विश्वासको मत लिन नसक्ने निश्चित भएकाले छिट्टै नयाँ सरकार गठन हुने बताउनुभयो ।

दल विभाजन भएको मितिले ३० दिनभित्र मुख्यमन्त्री शाक्यले संसद्बाट विश्वासको मत लिनुपर्छ । उहाँले विश्वासको मत नलिने भन्दै अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षीलाई चुनौती दिँदै आउनुभएको छ । अल्पमतमा रहेको सरकारले नै अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षीलाई चुनौती दिइरहँदा पनि मुख्यमन्त्रीको उम्मेदवार नटुंगिँदा शाक्यविरुद्ध अविश्वासको प्रस्ताव लैजान सकस परेको छ । संविधानको धारा १८८ बमोजिम अविश्वासको प्रस्ताव पेश गर्दा मुख्यमन्त्रीका लागि प्रस्तावित सदस्यको नामसमेत उल्लेख हुनुपर्छ । त्यसैले मुख्यमन्त्रीको उम्मेदवार नटुंगिएसम्म शाक्यविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना देखिँदैन ।

पाण्डे र बानियाँको मुख्यमन्त्रीमा दाबी

गठबन्धनको तर्फबाट नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डे र नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ गठबन्धन सरकारको मुख्यमन्त्री बन्ने दौडधुपमा हुनुहुन्छ । एमाले विभाजन अघिदेखि नै माधव नेपालको विश्वास पात्रका रूपमा रहनुभएका पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट बानियाँले आफू मुख्यमन्त्री बन्न केन्द्रीय तहसम्म दबाब बढाइरहनुभएको छ ।

अविश्वास प्रस्ताव दर्ता गर्नुअघि नै मुख्यमन्त्रीको नाम पेश गर्नुपर्ने भएकाले मुख्यमन्त्री टुंग्याउनुपर्ने दबाब गठबन्धनलाई परेको छ । ‘उहाँले चाहना गर्नुभएको हुनसक्छ तर, गठबन्धनको निर्णयअनुसार अगाडि बढ्ने कुरा भएको हुँदा बागमती सरकारको नेतृत्व समाजवादीले गर्नेछ । त्यहीअनुसार नै कुरा अगाडि बढिरहेको छौंँ,’ पाण्डेले भन्नुभयो,– ‘म प्रदेश सांसद भएदेखि नै मुख्यमन्त्रीको दौडमै थिएँ, गठबन्धनको सरकारमा मेरो दाबी रहनु स्वाभाविक हो ।’

अर्का आकांक्षी कांग्रेस नेता बानियाँले आफू मुख्यमन्त्रीको स्वतः दाबेदार रहेको बताउनुभयो । उहाँले मुख्यमन्त्री बन्नकै लागि आफू प्रदेश सांसदमा चुनाव उठेको र राजनीतिक परिप्रेक्ष्यले आफूलाई मुख्यमन्त्री बन्न अघि बढाउने दाबी गर्नुभयो । ‘हामीले यहाँबाट भनेर मात्रै हुँदैन, गठबन्धनमा रहनुभएका शीर्ष नेताहरूले के निर्णय गर्नुहुन्छ त्यसैलाई मानेर अघि बढ्ने हो । प्रदेशमा दल विभाजन हुनुअघि नै कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमति बनेको थियो । सोहीअनुसार नै मेरो दाबी स्वाभाविक छ ।’

बागमती प्रदेशसभामा एमाले ४३ सांसदका साथ पहिलो, २३ सांसदका साथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसदका साथ कांग्रेस तेस्रो, १३ सांसदसहित नेकपा (एकीकृत समाजवादी) चौथो, तीन सांसद भएको विवेकशील साझा पाँचौँ, दुई÷दुई सांसद रहेका राप्रपा र नेमकिपाका क्रमशः छैटौं र सातौं स्थानमा छन् । प्रदेशसभामा एकजना सांसद स्वतन्त्र छन् ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*