बागमती प्रदेशमा विश्वासको मत प्रस्ताव माथी छलफल

प्रदेश सभा बैठक स्थगित, अर्को बैठक १० गते बस्ने
४ कार्तिक २०७८, बिहीबार १८:२५

सिधाखबर  \ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु कार्तिक १० सम्म लम्ब्याइएको छ । अल्पमतमा परिसकेको अवस्थामा समेत मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी छलफल गर्दै बैठक मिति सारिएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको अवस्थामा प्रदेशसभा बैठक पर सारिएको हो ।

छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले आफुलाई सहयोग गर्न सबै दललाई आग्रह गर्दै प्रदेश सरकारले गरेका कार्यक्रम तथा योजनाबारे सभामा प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, बागमती प्रदेशको अबको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे रहेको प्रस्ताव प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले सभामा जानकारी दिनुभएको थियो ।

दलको तर्फबाट बोल्दै नेता जम्कट्टेलले पाण्डे अबको मुख्यमन्त्री बन्ने गठबन्धनको सहमती रहेको बताउनुभएको हो । उहाँले अहिलेको सरकारका मन्त्रीहरुमा पिडाबोध जस्तो महशुस भएको र मुख्यमन्त्रीमा पनि उर्जा नभएको जस्तो भान भएको बताउदैं नेता जम्कट्टेलले संसदको बैठक सार्न सत्तापक्षले सभामुख र सचिवालयलाई आग्रह गर्न पाइन्छ तर यही मितिमा गर भन्दै पत्र पठाउनु त्यो घमण्ड र दम्भ गरिएको देखिन्छ ।

त्यसप्रति हाम्रो दलको आपत्ति रहेको समेत बताउनुभयो । उहाँले विश्वासको मत प्रक्रियामा रहेकोले हाम्रो दलको तर्फबाट शाक्यलाई मत नजाने बताउनुभयो ।

यसैगरी नेपाली काँग्रेसका बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अल्पमतमा परिसकेको सरकारले भ्रमको राजनिति गर्दै लोभको खेती गर्दै यो सरकार अघि बढेको भन्दै गठबन्धनको सरकारले जनताको नजिक रहेर काम गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बिहीबार भाग लिँदै उहाँले आफूहरुले यो व्यवस्था र संविधान रक्षाका लागि गठबन्धन बनाएको बताउनुभयो । उहाँले आफ्नो दलले मुख्यमन्त्री शाक्यलाई साथ नहुने बताउदैं समय नलम्बाई सभामुखलाई प्रक्रियामा नयाँ सरकार बनाउनको लागि आग्रह गर्नुभएको छ । उहाँले गठबन्धनको पक्षमा ५९ जना सांसद पुगिसकेको छ, यो कुरा थाहा हुँदा हुँदै धेरै अलमल नगर्न सबैमा आग्रह गर्नुभएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३९ दिन भइसकेको पनि स्मरण गराएका थिए ।

संविधानतः सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने मुख्यमन्त्रीले किन अझै अल्पमतका बाबजुद सत्तामा टाँसिएर बस्न मन गरेको होला भन्ने प्रश्न गर्दै अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो समेत भन्नुभएको थियो ।

उहाँले आफूसहितको गठबन्धन अग्रगमनको पक्षमा, यो व्यवस्था र संविधानको पक्षमा भएकाले विश्वासको मत दिन नसकिने प्रष्ट पार्दै उहाँले संविधान रक्षाको लागि यस बेला गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

शाक्य अल्पमतमा परेसँगै पाँच दलीय गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा एसबीच आधाआधा समय सरकार चलाउने सहमती भएको स्रोतले जनाएको छ ।
सभामा सत्तापक्षमा सांसद तथा पूर्व भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुँयाल, विवेकशील साझा पार्टीका रमेश पौड्याल, जसपाका प्रेम बहादुर तामाङले आफ्ना भनाइ राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*