प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल, आज समूहगत निष्कर्ष प्रस्तुत गरिने

१४ पुष २०७८, बुधबार ०८:१५

काठमाडौं \  नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनको तेस्रो र बन्द सत्रको दोस्रो दिन मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको छ । प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल भएको हो । प्रदेशअनुसार विभाजन गरिएका समूहको छलफल प्रज्ञा भवनका विभिन्न हल एवं पार्टी मुख्यालय पेरिस डाँडा र काठमाडौंका विभिन्न पार्टी प्यालेसमा भएको हो ।

माओवादी महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठको वैचारिक एवं राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ । माओवादीको (आज) बुधबार बस्ने बन्दसत्रमा समूहगत निष्कर्ष प्रस्तुत गर्ने तय भएको छ । प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिन १५ मिनेटको समय छुट्याइएको छ । मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय छुट्याइएको नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार दिउँसो १ बजेदेखि समूह नेताले आफ्नो सुझाव राख्न पाउनेछन् । समुह नेताले सुझाव दिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर प्रस्ताव पारित गर्ने माओवादीको योजना छ । त्यसपछि केन्द्रीय कमिटीका लागि नाम प्रस्ताव गर्ने र ती नामहरूबाट पदाधिकारी चयन गर्ने माओवादीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*