थारु समुदायले माघी पर्व मनाउँदै

१ माघ २०७८, शनिबार ०८:१०

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।  सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ ।

यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफु स्वतन्त्र भएको अनुभव गर्छन् ।  यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास यस समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*