
साहित्यकार मसान उपासकका दुई कृति एकैदिन सार्वजनिक

हेटौंडा \ मकवानपुरे साहित्यकार मसान उपासकले एकैदिन दुई साहित्यिक कृति सार्वजनिक गरेका छन् । साहित्यकार मसानको कविता संग्रह ‘मानचित्रमा देश’ र ‘अक्षर आराधन’ गजल संग्रह एकैदिन सार्वजनिक गरिएको हो ।
साहित्य संगम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा साहित्यकार मसानका मातापिता गोमा सञ्जेल र रामप्रसाल सञ्जेल, साहित्यकार प्राध्यापक डाक्टर जिवेन्द्र देव गिरी, साहित्यकार आरसी रिजाल र निमेष निखिलले सयुक्त रुपमा कृतिहरुको विमोचन गरे ।
मसानद्वारा लिखित कविता संग्रह ‘मानचित्रमा देश’ मा ४६ वटा कविता रहेका छन् भने गजल संग्रह ‘अक्षर आराधन’ मा ५७ वटा गजल समावेश गरिएको छ ।
कृति विमोचनका क्रममा कविता संग्रह ‘मानचित्रमा देश’ माथि साहित्यकार तथा पत्रकार रामकुमार एलन र गजल संग्रह ‘अक्षर आराधन’ माथि साहित्यकार देवराज तिवारीले टिप्पणी गरेका थिए ।
संगमका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता एवं साहित्यकार प्राध्यापक डाक्टर जिवेन्द्र देव गिरीको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा प्रलेश मकवानपुरका अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, नोपली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, आँचल साहित्य कला पुञ्जकी सचिव भावना सापकोटा लगायत साहित्यकार तथा पत्रकारको सहभागिता रहेको थियो ।