
घरेलु टोलीलाई हराउँदै त्रिभूवन आर्मी बन्यो च्याम्पियन

हेटौंडा \ साविक विजेता नेपाल आर्मी क्लब घरेलु टोली विजय युथ क्लब हेटौैडालाई पराजित गर्दै चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । मकवानपुरस्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनल खेलमा विजय युथलाई २–१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।
आर्मीलाई च्याम्पियन बनाउन कप्तान भरत खवास र कमल बहादुर थापाले गोल गरे । यस्तै घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काए ।
खेलको १५औं मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिएको थियो ।
लगत्तै १० मिनेटपछि घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो ।युद्ध शाहीले पेनाल्टी बक्समा बिमल रानालाई फउल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै विजय युथका डोना थापाले गोल फर्काए तर दोस्रो हाफको शुरुमै कमल बहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए ।
लगत्तै आर्मीले पेनाल्टीको अवसर पाएपनि दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी थप अग्रता लिनबाट चुक्यो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा दिनेश गोल गर्न चुकेका हुन् । त्यसपछि दुबैतर्फबाट थप गोल हुन नसेकपछि आर्मी च्याम्पियन बन्न सफल भयो ।
आर्मीले गत सिजन पनि च्याम्पियन बन्ने क्रममा विजय युथलाई नै पराजित गरेको थियो । प्रतियोगिताका सर्वोकृष्ट खेलाडी बिजय युथका कप्तान अशोक बराल घोषित भए । उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट डिफेन्डर आर्मीका बिमल पाण्डे, उत्कष्ट मिडफिल्डर आर्मीकै बिवेक बस्नेत, उत्कृष्ट फरवार्ड आर्मीकै दिनेश हेन्जन र उत्कृष्ट प्रशिक्षक आमीकै नविन न्यौपाने घोषित भए । उनीहरुले जनही नगद २५ हजार प्राप्त गरेका छन् ।
उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ र शिल्ड हात पारेको छ । दोस्रो भएको विजय युथले १० लाख रुपैयामा चित्त बुझाएको छ । प्रतियोगिताका विजेता र उपविजेता टिम,सर्वोत्कृष्ट उत्कृष्ट खेलाडी,कोच,मिडफिल्डरलाई,रेर्फ्री समापनका प्रमुख अतिथि नेपाली कांग्रेस वागमती प्रदेश अध्यक्ष ईन्द्र बहादुर बानियाँले मोडल,सिल्ड र प्रशंसापत्र प्रदान गरेका थिए।मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १२ टोलीहरुको सहभागिता रहेको थियो ।