हेटौडा \ बागमती प्रदेशमा उच्च जिपिए ल्याउने आठ विद्यालयहरुलाई नगद सहित सम्मानित गरीएको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका सामुदायिक र संस्थागतगरी आठ विद्यालयलाई नगद सहित सम्मान तथा पुरस्कृत गरेको हो । सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा २०७९ सालमा बागमती प्रदेशमा माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) मा उच्च जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयहरुलाई प्रोत्सान गर्न नगद सहित सम्मान तथा पुरस्कृत गरिएको थियो ।
जसअनुसार सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी ३.७०११ जिपिए ल्याई प्रथम हुन सफल मेघा माध्यामिक विद्यालय,भक्तपुर नगरपालिका ३, तेखापुखु, भक्तपुरलाई नगद एक लाख सहित सम्मान गरीएको थियो । यस्तै औसत ३.३४३७ जिपिए ल्याई दोश्रो हुन सफल पृथ्वी मावि,विदुर नुवाकोटलाई नगद ८० हजार, औसत ३.३१२७ जिपिए ल्याई तृतीय हुन सफल श्रम राष्ट्रिय मावि काठमाडौं —७ लाई ६० हजार, औसत ३.३१२७ चौथो हुन सफल पृथ्वी नारायण मावि तारकेश्वर काठमाडौंलाई ४० हजार र औसत ३.२४९५ जिपिए ल्याई पाँचौ हुन सफल बलम्बु मावि चन्द्रगिरि नगरपालिका काठमाडौंलाई ३० हजार सहित सम्मान गरीएको थियो ।
यस्तै संस्थागत विद्यालय तर्फ सबैभन्दा बढी औसत ३.७६३४ जिपिए ल्याई प्रथम हुन सफल रिलायन्स इन्टरनेसनल एकेडेमी, बुढानिलकण्ठ नगरपालिका लाई नगद एक लाख, औसत ३.७०३३ जिपिए ल्याई द्धितीय हुन सफल हिज किड्स इन्टरनेसनल स्कुल, काठमाडौंलाई ८० हजार रुपैयाँ र औसत ३.७०२० जिपिए ल्याई तृतीय हुन सफल फ्लोरोसेन्ट माध्यमिक विद्यालय, टोखा नगरपालिकालाई ६० हजार रुपैयाँ सहित सम्मान गरीएको थियो ।
२०७९ सालको माध्यमिक शिक्षा परिक्षामा बागमती प्रदेशबाट १ हजार ३ सय ६२ सामुदायिक विद्यालय र १ हजार ५ सय ४८ संस्थागत विद्यालय गरी जम्मा २ हजार ९ सय १० विद्यालयहरूको सहभागितामा एक लाख एक हजार ९ सय ५४ विद्यार्थीहरुसहभागी रहेका थिए । सामाजिक विकास मन्त्री कुमारी मुक्तानको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले नै उत्कृष्ठ विद्यालयहरुलाई सम्मान गर्नु भएको थियो ।
सम्मान गर्दै उहाँले शिक्षा क्षेत्रमा मनपरी शुल्क भएकाले अब प्रदेश सरकार आफैले शुल्क निर्धारण गर्न लागेको बताउनु भयो । पढेपछि ऋण तीर्न विदेश जानुपर्ने बाध्यता धेरै विद्यार्थीहरुको समस्या रहेकाले अब शिक्षा क्षेत्रको बृहत्तर विकासका लागी प्रदेश सरकार लागीपर्ने उहाँले बताउनु भयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा भीष्मकुमार भुसाल, बिभिन्न विद्यालयका शिक्षक प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो ।