हेटौंडा / हेटौंडा हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले नगरको बिकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न उपमहानगर तयार रहेको बताएकी छन् । मंगलबार हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी–२०८० को समापनलाई संम्बोधन गर्दै नगर प्रमुख लामाले नगरको बिकासका लागि नियम, परिधी र कानुनमा रहेर निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएकी हुन् । नगर प्रमुख लामाले साना उद्योग सञ्चालन गर्दै महिलाहरुलाई आर्यआर्जनमा जोड्न जरुरी रहेको बताइन् । आर्थिक समस्याका कारणले हिंसाका घटनाहरु हुने, महिलाहरु परनिर्भर बन्नु पर्ने अवस्थालाई रोक्नका लागि दिगो आर्यआर्जनमा जोडिन जरुरी रहेको उनको भनाई थियो । समापनमा ११ बर्ष पछि मकवानपुर उद्योग बाणिज्य संघ महिला उद्यमी समितिले प्रकाशन गरेको स्मारीका बिमोचन गरीएको थियो ।
संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजाल, महिला उद्यमी समितिका सभापती अंकिता सुमार्गी, मउवा संघका पुर्व अध्यक्ष अरुणराज सुमार्गी, प्रदर्शन कर्ता नुरानी ढुङ्गेल लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । प्रदर्शनीमा ४५ वटा घरेलु उत्पादनका सामग्रीहरुको स्टल रहेको थियो ।
लामो समय पछि सञ्चालन भएको प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, ईटहरीदेखिका उद्यमीहरुले स्टल राखेका थिए । प्रदर्शनी अवधीमा महिला उद्यमीहरुको वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता लगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो ।