आज शुक्रबारदेखि २ नेपाली चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हुन् ‘दान्भी’ र ‘आचार्य’ । फ्राईडे रिलिज अन्तर्गत एकसाथ आएका यी दुई मध्य ‘दान्भी’ नयाँ फिल्म हो, भने ‘आचार्य’ १३ वर्ष अगाडिको एक पटक प्रदर्शनमा आइसकेको चलचित्र हो । चलचित्रले दर्शकको साथ राम्रो पाउने अपेक्षा दुवै चलचित्रका निर्माताहरुले गरेका छन् ।
अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन भूमिकामा देखिएको चलचित्र हो ‘दान्भी’ । रूपेश तामाङ निर्देशित चलचित्रमा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको अभिनय छ ।
पवन राना मगर कार्यकारी निर्माता, देव मगर तथा अनुप गडाल निर्माता रहेको चलचित्रको कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता हुन् । सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन रहेको चलचित्रमा कविराज गहतराजको नृत्य छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गरेको हो ।
‘आचार्य’
‘आचार्य’ १३ वर्ष अघि नै निर्माण भएर पनि प्रर्दशनमा आएको चलचित्र हो । स्वर्गिय गायक भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले चलचित्र फेरि प्रदर्शनमा ल्याइएको हो । सिल्क रोड पिक्चर्सले निर्माण गरेको चलचित्रमा भक्तराजको निधन पश्चातका केही दृष्य थप गरिएका छन् ।
चलचित्रमा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य, अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन काकीलगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ । प्रशान्त रसाइलीले निर्देशित चलचित्र रोशन राईले निर्माण गरेका हुन् ।
दुवै चलचित्र हेटौंडाका एनएस सिनेमाज् हलमा प्रदर्शन भइरहेको हल स्रोतले जनाएको छ ।