हेटौंडा \ बागमती प्रदेशमा पनि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुइ दलीय संयन्त्र बनाएका छन् । सरकारका काममा निगरानी गर्नका लागि यस प्रदेशमा पनि संघीय तहमा जस्तै संयन्त्र निर्माण गरेका हुन् । दुइ दलीय संयन्त्रको नेतृत्व कांग्रेस र एमालेले पालैपालो गर्ने भएका छन् ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रले प्रदेशका जिल्लाहरुमा पनि संयन्त्र निर्माण गर्न निर्देशन दिएको छ । प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आइतबार ललितपुरमा बसेको पहिलो बैठकले प्रदेशको १३ जिल्लामा दुई दलीय संयन्त्र निर्माण गर्न निर्देशन दिएको छ ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले दुबै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र संयन्त्र गठन गर्न निर्देशन दिएको हो । संयन्त्रका सचिव राजु नेपालका अनुसार बैठकले दुई दलले एक/एक महिना आलो पालो बैठकको संयोजन गर्ने भएका छन् । २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट एक/एक जना रहने, संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने समझदारी भएको छ ।
त्यस्तै, आवश्यकता अनुसार थप बैठक र छलफल गर्न सक्ने र दलीय संयन्त्र तथा बागमती प्रदेश सरकारका मन्त्रीहरुको संयुक्त बैठक आगामी २०८१ मंसिर ३ गते हेटौंडामा बसेर बागमती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमका बारेमा जानकारी लिने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, कांग्रेस प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जन, नेकपा एमालेका तर्फबाट बागमती प्रदेश इञ्चार्ज राजन भट्टराई र प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल सहभागी थिए ।