हेटौंडा \ नेपाली चलचित्र ‘अग्निदहन’ सामाजिक चलचित्र रहेको बताइएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक धनश्याम लामिछानेले हाम्रो समाजमा घटेको सत्यघटनामा आधारित विषयवस्तुमा चलचित्र निर्माण भएको बताए । यो सामाजिक चलचित्र हो, समाजमा हुने बोक्सी प्रथाको अन्त्यका लागि चलचित्र निर्माण गरिएको बताए । मंसिर ७ देखि हलमा प्रदर्शन हुने चलचित्रमा बोक्सी प्रथाविरुद्ध सामाजिक चेतना महाअभियानका साथ निर्माण गरिएको निर्देशक लामिछानेले भने ।
चलचित्रलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको व्यानरमा निर्माण गरिएको छ । चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा र सम्वाद रहेको छ । अग्निदहन उपन्यासमा आधारित चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, तारा बहादुर गुरुङ लगायतको कलाकारको अभिनय रहेको छ ।
कोविदशरण उपाध्यायको प्रस्तुती रहेको चलचित्र हेटौंडाको कमाने र पोखराको विभिन्न स्थानमा छाँयाकन गरिएको चलचित्रका संरक्षक मोहनराज शर्मा पौडेलले बताए । एक करोड भन्दा बढी लगानीमा निर्माण भएको चलचित्र नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरी र मैथिली भाषामा तयार पारिएको पौडेलले बताए ।
चलचित्रबाट आएको रकम यही महाअभियानमा नै खर्च गरिने संरक्षक पौडेलले बताए । उनले शिक्षामूलक रहेकाले विद्यार्थीहरुले प्राथमिकतामा राखेर चलचित्र हेरिदिन आग्रह समेत गरेका छन् । हामीले पाँच सय भन्दा बढी स्थानमा च्यारिटी सो गरिसकेका छौं, सबैतिर राम्रो प्रतिक्रिया आएको छ । हाम्रो समाजमा बोक्सी बोक्सो भनेर गरिने सामाजिक कुरिति विरुद्ध अभियान चलाउँदै चलचित्र निर्माण गरेका हौं, उनले भने ।
पत्रकार सम्मेलनमा अभिनेता प्रकाश घिमिरेले बोक्सी प्रथा विरुद्धको कथामा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । फरक भूमिकाले आत्म सन्तृष्टि मिल्ने भएकाले यस चलचित्र अभिनय गर्दा समाजलाई केहि दिन सकेको बताए । चलचित्रमा बोक्सीको भूमिकामा आफ्नो भूमिका रहेको प्रमिला तुलाचनले बताईन् । सामाजिक विषयवस्तु र महिलाको कथावस्तु रहेको उनले बताइन् । चलचित्रमा दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, र शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन रहेको छ भने कोविदशरण उपाध्यायको परिकल्पना रहेको छ । चलचित्र विस २०७५ सालमा निर्माण गरिएको हो ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, प्रतिष्ठानका केन्द्रीय सदस्य दीपक पराजुली, कमला पाण्डे लगायतको उपस्थिति रहेको थियो ।