हेटौँडा \ हेटौँडामा २५ औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिता-२०८१हुने भएको छ । शनिबार नेपाल बुद्धिचाल महासंघले पत्रकार सम्मेलन गर्दै आइतबारबाट सुरु हुने २५ औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १० औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताबारे जानकारी गराइएको छ ।
महासंघका अध्यक्ष हिराकाजी महर्जनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासचिव धरमबहादुर लामाले प्रतियोगिताको तयारी पुरा भएको र आइतबार प्रस्तिपर्धा सुरु गरिने बताउनुभयो । हामीले खेलाडी छनौट गरिसक्यौं, भोलीबाट राउण्ड रोविन चरणमा खेल खेलाईनेछ, महासचिव लामाले भन्नुभयो ।
अघिल्लो वर्षका विजेताहरु र राष्ट्रिय बी छनौटबाट भएका पुरुषतर्फ १२ जना र महिलातर्फ १२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । एघार चरणमा खेलाइने खेल १९ गतेसम्म सञ्चालन हुने महासचिव लामाले बताउनुभयो । निर्णायक, खेलाडीहरु तथा अफिसियलहरु हेटौंडा आइसक्नुभयो, आवास र खानाको व्यवस्था आयोजकले गरेको छ, प्रतियोगितामा करिब २४ लाख ५० हजार खर्च हुने अनुमान छ, महासचिव लामाले भन्नुभयो ।
प्रतियोगितामा विजेताले श्रृलंकामा मार्च १० गतेदेखी हुने एसियन जोनल गेमका लागि सहभागिता पाउनुका साथै एयर टिकट समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । दोस्रो र तेस्रो हुने खेलाडीले भने क्रमशः पन्ध्र हजार र दश हजार नगद प्राप्त गर्नेछन् ।
२४ औँ राष्ट्रिय स्वर्ण पदक झापाका राजन सुवेदी र ९ औँ राष्ट्रिय स्वर्ण पदक काठमाडौंकी सिन्दिरा जोशीले हात पारेका थिए । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष हिराकाजी महर्जन, महासचिव धरमबहादुर लामा, प्रदेश खेलकुद परिषद् सदस्य संगीत श्रेष्ठ, मकवानपुर जिल्ला बुद्धिचाल संघका सचिव किसन घिसिङलगायतको सहभागिता रहेको थियो ।