हेटौंडा \ प्रदेश राजधानी हेटौंडामा पसल व्यवसायको सटरको तालानै काटेर चोरी भएको प्रति मोवाईल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरमा जिल्ला स्थित सुरक्षा निकायहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार राती हेटौंडा ४ स्कुलरोडमा न्यू ९९ मोवाईल सोलुसन पसलको सटरको ताल्चा काटी चोरीको घटनालाई लिएर म्यान मकवानपुरले जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडा उपमहानगरपालिकालाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।
एशोसिएसनका अध्यक्ष हरिप्रसाद न्यौपाने(सागर)ले पसल चोरीले गर्दा व्यवसायीमा त्रसितको भावना उत्पन्न भएकाले रातीको समयमा पनि प्रहरी टोली परिचालन गरि सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका छन् । हामीले सुरक्षा निकायमा प्रहरी परिचालन सहितको माग गरेका छौं, नगरपालिका र उद्योग वाणिज्य संघमा भने प्रर्याप्त सिसी क्यामेरा र सडक बत्तिको लागि ध्यानाकर्षण पत्र बुझाएका छौं, अध्यक्ष न्यौपानेले भने । सिसी क्यामेरा र सडक बत्ति नहुँदा ढुक्क भएका व्यवसाय गर्ने वातावरण भएन ।
हाम्रो मात्र होईन, कपडा, सुनचादीँ, भाडाँकुडा, टिभी फ्रिज लगायत अन्य व्यवसायमा पनि चोरी बढ्दोले व्यवसायीहरु त्रसित हुनु परेको अध्यक्ष न्यौपानेले बताए । सरकार अहिले प्रविधि र स्मार्ट हेटौंडाको अवधारणा बोकेर हिडेका छन् तर प्रर्याप्त सिसी टिभी, सडक बत्ति नहुनु र सुरक्षा क्षेत्र कमजोर हुनुले अवधारणाहरु कागजमै सिमित रहेको प्रष्ट देखिन्छ । सञ्चालित क्यामेराहरु पनि नगरपालिकाले मर्मत सम्भार नगर्दा स्पष्ट नदेखिने खालका रहेको व्यवसायीहरुले जनगुनासो गरिरहेका छन् ।
ध्यानाकर्षण पत्र अध्यक्ष न्यौपाने, निवर्तमान अध्यक्ष नवराज चौलागाई, नेपाल मोवाईल व्यवसायी महासंघ बागमती प्रदेश अध्यक्ष एसीस रिजाल लगायत म्यान मकवानपुरका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडा उपमहानगरपालिकालाई पत्र बुझाएका छन् ।
म्यान मकवानपुरले बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल मोवाईल व्यवसायी महासंघ बागमती प्रदेश कार्यसमितिको समेत एक्यवद्धता रहेको महासंघका अध्यक्ष एसीस रिजालले बताए ।