कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाले आफ्नो स्थानीय विषयवस्तुमा आधाररित हाम्रो कैलाश नामक पुस्तक विद्यालयलाई वितरण गरिएको छ । विहीबार गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विद्यालयका प्रध्यानाध्यापकहरुलाई पुस्तक वितरण गरेका हुन् ।
पुस्तक वितरण गर्दै अध्यक्ष मुुक्तानले कैलाशमा रहेका कला संस्कृति, ऐतिहासिक तथा पर्यटकीय विषयवस्तु समेटिएको पुस्तकले बालबालिकामा कैलाशबारे ज्ञान रहने बताए । उक्त पुस्तकमा स्थानीय रहन सहन, जातजातीय, कला संस्कृति, परम्परा लगायत यहाँको भौगोलिक अवस्थाबारे सबै बालबालिकामा थाहा हुने गरी विज्ञबाट पुस्तक तयार पारिएको बताए ।
उनले समग्र कैलाशको शिक्षामा सुधार ल्याउनुपर्ने बताउँदै परीक्षामा धेरै कुरामा ख्याल गर्नुपर्ने बताए । कक्षा ८ को परीक्षा समीक्षा समेत रहेकाले अध्यक्ष मुक्तानले नतिजा अनुरुप शिक्षामा गुणस्तर नभएको देखिन्छ, त्यसतर्फ शिक्षाको क्वालिटीमा सुधार ल्याउन विद्यालय प्रअहरुलाई आग्रह गरेका थिए । भौगोलिक विकटा छ, विद्यार्थी र शिक्षकहरु नै आवतजावतमा समस्या छ, त्यसमा पनि विज्ञान, गणित अंग्रेजी विषयका शिक्षक अभावमै पठनपाठन गराउनुपर्ने हाम्रो बाध्यता रहेको छ, उनले भने ।

गाउँपालिकाले शिक्षामा पर्याप्त लगानी गर्दै आइरहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । विद्यार्थीहरु विद्यालयमा टिकाउन हम्मेहम्मे परिरहेको अवस्थामा पनि पालिकामा क्रमिक रुपमा शिक्षामा सुधार हुँदै आइरहेको बताए । शिक्षक अभावकै कारण कतिपय विषयगत शिक्षक बाहेकले पनि अध्यापन गराउँदै आइरहेको अवस्था छ, के गर्न भौगोलिक विकटता छ, शिक्षक आउन्न मान्दैनन्, उपाध्यक्ष मल्लले भने ।
गाउँपालिकाको १० वटा निमावि तथा मावितहका विद्यालय छन् । सोही अनुरुप कक्षा ६, ७ र ८ का विद्यार्थीका लागि हाम्रो कैलाश पुस्तक गत शैक्षिक सत्रबाट पठनपाठन सुरु भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीले बताए । हामीले गतवर्षबाट सुरु गर्यौं, यसवर्ष पुस्तक पनि प्रकाशन भयो, अब विद्यार्थीले पुस्तकनै हेरेर पढ्नेछन्, जोशीले भने । गतवर्षको ईमिस प्रणालीमा दर्ता भएको तथ्याङ्कको आधारमा कक्षा ६ मा ४ सय ४१, कक्षा ७ मा ३ सय ९४ र कक्षा ८ मा ४ सय ५ जना विद्यार्थीको लागि भनी पुस्तक प्रकाशित गरिएको जोशीले बताए ।
उक्त कार्यक्रममा कक्षा ८को अन्तिम परीक्षाको समीक्षा समेत गरिएको छ । इमिस प्रणालीमा तीन सय ९८ विद्यार्थी दर्ता भएता पनि परीक्षामा तीन सय ४४ जना विद्यार्थी सहभागी रहेको शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले बताए । परीक्षामा सहभागी मध्ये एक सय ८१ जना उर्तिण भएका छन् । उर्तिण हुनेमा ५२.६ प्रतिशत रहेको उनले बताए । परीक्षाको अन्तिम नतिजामा एनजी आउने एक सय ६३ जना रहेका छन् । ३.४० जिपिए भन्दा बढी ल्याउने विद्यार्थीको संख्या भने १५ जना रहेको अधिकारीले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दीपेन्द्र अधिकारी, विद्यालय स्रोत शिक्षक ध्रुवराज विष्ट लगायत विद्यालयका प्रअहरुको उपस्थिती रहेको थियो ।